काठमाडौं– बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा १० बैंक र वित्तीय संस्थाले ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
यो ३४१ मेगावाट क्षमताको परियोजनाको कुल लागत ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ। बिहीबार काठमाडौंमा टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच ऋण लगानी सम्झौता सम्पन्न भएको हो।
सम्झौतापत्रमा टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्।
नेपाल इन्भेस्टमेन्ट बैंकले नेतृत्व गर्दै १० अर्ब रुपैयाँ लगानी गर्नेछ। सह-नेतृत्व गर्ने बैंकहरू नबिल बैंक ८ अर्ब, लक्ष्मी सनराईज बैंक ८ अर्ब र ग्लोबल आइएमई बैंक ७ अर्ब रुपैयाँ लगानी गर्ने छन्। साथै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ४ अर्ब, माछापुच्छ्रे बैंक ४ अर्ब, सिटिजन्स बैंक ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३ अर्ब, प्रभु बैंक ३ अर्ब र कृषि विकास बैंक २ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन्।
परियोजनाको ऋण भुक्तानी अवधि ५ वर्ष ४ महिना तोकिएको छ।
७० अर्बको कुल लगानीमध्ये ७५ प्रतिशत ऋणबाट जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले स्वपुँजीबाट लगानी गर्नेछ। टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत शेयर छ।
प्रति मेगावाट २० करोड ५३ लाख रुपैयाँमा निर्माण हुने यो परियोजना नेपालका लागि सस्तो लागत भएको कम्पनीले जनाएको छ। नेपालमा जलविद्युत् परियोजनाको औसत लागत प्रति मेगावाट २० करोडभन्दा बढी हुन्छ भने कतिपय परियोजनाको लागत ३० करोडभन्दा बढी पनि हुने गरेको छ।
टाइम्स इनर्जीले परियोजना निर्माण र विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट अनुमति लिइसकेको छ। नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ।
साहस ऊर्जाका अध्यक्ष हिम पाठकका अनुसार, आयोजना निर्माण आगामी पुसदेखि सुरु हुने तयारी छ। जग्गा मुआब्जा वितरण र पहुँच मार्ग विस्तारका कामहरू सम्पन्न भइसकेका छन्। कम्पनीले स्थानीयका लागि बेलिब्रिज पनि निर्माण गरेको छ।
यो आयोजनालाई निजी क्षेत्रले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना मानिएको छ। निजी क्षेत्रले अहिलेसम्म ८६ मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माण गरिसकेको छ।
यस आयोजनाको बाँधस्थल र जलाशय मनासलु संरक्षण क्षेत्रको दक्षिणी भाग चुमनुब्री गाउँपालिकामा पर्नेछ। बाँकी संरचना संरक्षण क्षेत्र बाहिर निर्माण हुनेछ।
परियोजनामा १००.२७ घनमिटर प्रति सेकेण्ड डिजाइन डिस्चार्ज रहेको छ। बाँधले करिब २ किलोमिटर लामो जलाशय निर्माण गर्नेछ, जसमा १७.६० लाख घनमिटर पानी भण्डारण हुनेछ।
६०.४३ मेगावाट क्षमता भएका ६ वटा टर्बाइनले वार्षिक १८३७.१६ गिगावाट घण्टा बिजुली उत्पादन गर्ने अनुमान छ। उत्पादित बिजुली करिब ४५ किलोमिटर प्रसारण लाइन मार्फत रातमाटे सबस्टेसनमा जोडिनेछ।
यो आयोजनाको सबै मुख्य संरचना भूमिगत हुने भएकाले भूकम्प र बाढी पहिरोबाट हुने जोखिम न्यून रहेको कम्पनीले जनाएको छ।
बुढीगण्डकी आयोजनाको व्यावसायिक उत्पादन सन् २०३० सम्म रहने छ।
प्रतिक्रिया