+
Search

ताजा अपडेट +

पपुलर +

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पालिका लाइभ
२०८२ फाल्गुन ३०, शनिबार

ललितपुर– ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री तथा अत्याधुनिक प्रशासनिक भवन ‘ब्लक सी’ सञ्चालनमा ल्याएको छ। ललितपुर–१२ स्थित यो भवनमा वडा कार्यालयसहित महानगरका दुई महाशाखाहरू पनि सञ्चालन हुने छन्।

महानगर प्रमुख चिरीबाबु महर्जनले भवनको उद्घाटन गर्दै यसको निर्माण प्रक्रियामा आएका विभिन्न चुनौतीहरू समाधान गर्दै सफलता हासिल गरिएको बताए। उनले भने, ‘भवन निर्माणका क्रममा मुद्दा–मामिला, जग्गाको भोगाधिकार जस्ता जटिल विषयहरू समाधान गर्दै यो चरणसम्म सफलता हासिल गर्न सकियो।’

महानगरले अहिलेसम्म तीन प्रशासनिक भवन र २३ अत्याधुनिक वडा कार्यालय भवन निर्माण गरिसकेको छ। महर्जनले प्रविधिअनुसार नागरिकमैत्री सेवा प्रवाहमा महानगर निरन्तर लागिपर्ने र आगामी दिनमा गुणस्तरीय सेवा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भनिन्, ‘अब वडा नं ५, ९, १४ र १६ सहित पाँचवटा वडा कार्यालय भवन निर्माण हुन बाँकी छन्। ती भवन पनि यथाशीघ्र निर्माण गर्नेतर्फ महानगर केन्द्रित छ। वडा नं ५ को भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्त भइसकेको छ। नागरिकका लागि यो भवन अत्यन्तै महत्त्वपूर्ण हुनेछ।’ उनले भवन निर्माणमा अनेक कानुनी चुनौतीको सामना गर्दै समयमै सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गरिन्।

ललितपुरका जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भवन निर्माणले सुशासन कायम राख्दै सरकारी मूल्य मान्यता र स्वचालित सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले सबै कर्मचारी र सरोकारवालाहरूले सुशासन कायम गर्दै नागरिकलाई सेवा दिनेमा आशावादी रहेको बताए। भट्टराईले महानगरको पहललाई समुदायस्तरमा भएका मठमन्दिर निर्माणसँग तुलना गर्दै उदाहरणीय रहेको धारणा व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले पनि महानगरले नागरिकको सेवालाई सर्वोपरि राख्दै उत्कृष्ट कार्य गर्नेतर्फ ध्यान केन्द्रित गरेको जानकारी दिए। उनले विगतमा निर्माण भएका भवन पर्याप्त नभएकाले नयाँ प्रशासनिक संरचना निर्माण गरिएको बताए।

नयाँ भवनको क्षेत्रफल २,२४४.४१ वर्गमिटर रहेको छ। भवनको पहिलो तला वडा कार्यालयका लागि तोकिएको छ भने माथिका तलाहरूमा महानगरका महाशाखाहरू सञ्चालन हुनेछन्।

पूर्वाधार महाशाखा प्रमुख प्रदीप पौडेका अनुसार, भवन निर्माण सम्झौता २०७९ असार १३ गते ११ करोड ९५ लाख रुपैयाँमा भएको थियो। विभिन्न कानुनी झमेलाका कारण समय–समयमा म्याद थप भए पनि भवन निर्माण हालै सम्पन्न भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ