काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवारी दिएको तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा संलग्न भएको आरोपमा ७ जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेका व्यक्तिलाई पार्टी विधानको दफा १०६ अनुसार अनुशासनात्मक कारबाही गरिएको पार्टीले जनाएको छ।
पार्टीबाट निस्कासनमा पर्नेहरूमा सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङ क्षेत्र नं. ४ का कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
पार्टी सह–संयोजक माधवकुमार नेपाल र संयोजक प्रचण्डद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय विपरीत गरिएका गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ।
निस्कासनको प्रतिक्रिया दिँदै नेता गजुरेलले सबैभन्दा पहिला पार्टी प्रचण्डमाथि नै कारबाही हुनुपर्ने बताए। पार्टीको विधि, पद्धति र प्रक्रिया मिच्ने मुख्य व्यक्ति प्रचण्ड नै भएको दाबी गर्दै उनले सिन्धुली जिल्ला पार्टीको सिफारिस र निर्णयलाई बेवास्ता गरेर मनोमानी, अहङ्कारवादी र व्यक्तिवादी ढङ्गले उम्मेदवार तय गरिएको आरोप लगाए।
‘जो अगुवा उही के भनेझैँ, पहिले प्रचण्डलाई नै कारबाही हुनुपर्छ। जिल्ला पार्टीले गरेको निर्णय उल्लंघन गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्छ,’ गजुरेलले भने। उनले नेतृत्वको आलोचना गर्दै विधि र पद्धतिको उल्लंघन गर्ने मुख्य जिम्मेवार व्यक्तिलाई छोडेर अन्य नेताहरूलाई मात्र कारबाही गर्नु हास्यास्पद भएको बताए। प्रचण्डलाई पहिले कारबाहीको दायरामा ल्याएपछि मात्र अन्य नेताहरूको विषयमा छलफल गर्नु न्यायोचित हुने उनको तर्क छ।
गजुरेलले प्रचण्डको कार्यशैलीले पार्टीको आन्तरिक लोकतन्त्र र अनुशासनलाई धराशायी बनाएको दाबी समेत गरेका छन्।
प्रतिक्रिया