काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच हुने भनिएको पार्टी एकता अन्ततः भाँडिएको छ। दुवै दलबीच पुस १४ गतेदेखि सुरु भएको एकताको प्रयास विभिन्न चरणमा छलफल भए पनि शनिवार औपचारिक रूपमा टुङ्गिएको हो।
एकता प्रक्रिया असफल भएपछि अब दुवै दल आ–आफ्नै ढङ्गले राजनीतिक गतिविधि अघि बढाउने तयारीमा जुटेका छन्।
रास्वपाले एकता भाँडिनुको मुख्य कारण उनेपा संरक्षक कुलमान घिसिङले राखेका अडानहरू रहेको दाबी गरेको छ।
रास्वपाका अनुसार घिसिङले प्रधानमन्त्रीसरहको हैसियतसहित पार्टीमा समायोजन हुनुपर्ने, आफ्ना वरिष्ठ नेता, पदाधिकारी तथा सम्पूर्ण केन्द्रीय सदस्यलाई रास्वपाका समेटिनुपर्ने सर्त राखेका थिए। यसैगरी, समानुपातिक उम्मेदवारलाई बन्दसूचीको पहिलो स्थानमा राख्नुपर्ने अडानबाट कुलमान पक्ष पछि नहटेपछि सहमति सम्भव नभएको रास्वपाको भनाइ छ।
रास्वपाका नेता गणेश पराजुलीले अधिकतम लचकता अपनाउँदा पनि सहकार्य हुन नसकेको बताए। उनका अनुसार उनेपा पक्षले हालको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गर्दै नयाँ राजनीतिक सिद्धान्त निर्माण गर्नुपर्ने प्रस्ताव राखेको थियो, जसमा रास्वपाले असहमति जनाएको हो।
त्यस्तै, रास्वपाका प्रवक्ता मनीष झाले पदाधिकारी संरचनामा थप तीन पद सिर्जना गर्नुपर्ने, तीमध्ये वरिष्ठ उपसभापतिको जिम्मेवारी कुलमानलाई दिनुपर्ने र थप एक महामन्त्री पद उनेपाको भागमा पार्नुपर्ने मागमा सहमति जुट्न नसकेको स्पष्ट पारे।
एकता प्रक्रिया भाँडिएसँगै उनेपाले केन्द्रीय समिति बैठकमार्फत घिसिङलाई अध्यक्ष घोषणा गरेको छ। यसअघि दुवै दलबीच पुस १४ गते सातबुँदे सहमति भएको भए पनि त्यसअनुसार अघि बढ्न नसक्दा सहकार्य टुङ्गिएको दुवै पक्षले स्वीकार गरेका छन्।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले उनेपाको प्रस्ताव स्वीकार गर्न नसकिने निष्कर्षमा पार्टी पुगेको जानकारी गराएका थिए। यता, उनेपाका नेताहरूले भने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताका विषयमा रास्वपा स्पष्ट हुन नसकेकाले एकता सम्भव नभएको दाबी गरेका छन्।
स्रोतका अनुसार रास्वपाको एकता प्रक्रिया असफल भएपछि उनेपाले पुस २८ अगावै समानुपातिक उम्मेदवारको सूची संशोधन गर्ने र त्यसपछि प्रत्यक्षतर्फका उम्मेदवार पनि आफ्नै ढंगले तय गर्ने तयारी गरेको छ।
प्रतिक्रिया