काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग गरिएको एकताप्रति असहजता व्यक्त गरेका छन्। निकट नेताहरूसँगको छलफलमा घिसिङले हतारमा एकता गरिएको स्वीकार गर्दै रास्वपासँग मिलेर अगाडि बढ्न गाह्रो भएको बताएका हुन्।
शुक्रवार बिहान घिसिङले रास्वपा सभापति रवि लामिछानेसँग करिब तीन घण्टा लामो छलफल गरेका थिए। त्यसपछि दिउँसो पार्टीका नेतृत्व तहका नेताहरूसँग काठमाडौंको बौद्धमा करिब दुई घण्टा छलफल भएको थियो। सो छलफलमा घिसिङले रास्वपासँगको सहकार्य सहज नभएको धारणा राखेको एक नेताले बताए।
घिसिङको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी नेताहरूले केही आधारभूत विषयमा मत नमिल्दा समस्या देखिएको बताएका छन्। ‘एक–दुई कुरा मिलेका छैनन्, रास्वपासँग मिलेर जान गाह्रो भयो,’ घिसिङले भनेका थिए। उनका अनुसार पार्टी एकताको निर्णय हतारमा गरिएको महसुस अहिले हुँदै गएको छ।
शीर्ष नेताहरूसँगको छलफलपछि घिसिङले अहिले उनेपाका केन्द्रीय सदस्यहरूसँग छलफल सुरु गरेका छन्। काठमाडौंको बौद्धस्थित एक होटलमा जारी छलफलका लागि सबै केन्द्रीय सदस्यलाई पार्टीको आन्तरिक समूहमार्फत उपस्थित हुन सूचना दिइएको थियो।
केन्द्रीय सदस्यहरूसँगको छलफलपछि रास्वपासँगको सहकार्यलाई निरन्तरता दिने वा अलग हुने भन्ने विषयमा निष्कर्षमा पुग्ने घिसिङको योजना रहेको बताइएको छ। यद्यपि अहिलेसम्म औपचारिक रूपमा अलग हुने निर्णय भइनसकेको र छलफलपछि मात्रै अन्तिम निर्णय लिने तयारी रहेको एक नेताले जानकारी दिए।
उनका अनुसार घिसिङले हालको अवस्थालाई ‘अप्ठ्यारो’का रूपमा चित्रण गर्दै आएका छन्।
प्रतिक्रिया