पर्सा- वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको हो।
वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कर्फ्युका बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि प्रशासनले अनुरोध गरेको छ । कर्फ्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए । मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त भएको हो ।
प्रतिक्रिया