+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाप्रति सिके राउतको टिप्पणी- तीन महिनाको ‘भिजन’ नहुनेले देशलाई कुन खाल्डोमा हाल्ने हुन् ?

पालिका लाइभ
२०८२ पुष २१, सोमबार

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै देश चलाउने अवसर पाए भने देशलाई नै खाल्डोमा जाक्नसक्ने भन्दै चिन्ता जाहेर गरेका छन् ।

पार्टी, संगठन केही पनि चाहिँदैन, भन्दै तीन महिनाअघिसम्म उफ्रिनेहरू धमाधम पार्टी प्रवेश गरेको र कुनै एजेन्डा नभएकाहरू राजनीतिमा लागेको भन्दै उनले व्यंग्य गरेका हुन् ।

कुनै पार्टी चाहिँदैन भनेर कराइरहेका युवाहरू आफ्ना अगुवाले रास्वपाको शपथ खाएपछि अब के गर्लान् भनी चिन्ता समेत जाहेर गरेका छन् ।

‘स्वतन्त्रको राजनीति’ शिर्षक दिएर राउत सामाजिक सञ्जालमा लेख्छन् :
‘जसले ३ महिना अगाडिसम्म गाडी चलाउन ब्रेकै चाहिँदैन, इन्धन वा ब्याट्री नि चाहिँदैन बडो आस्थाका साथ भनिरहेको होस्, तपाईं त्यस्तो ड्राइभरले गुडाएको गाडी चढेर मुक्तिनाथ जान सुरक्षित ठान्नु हुन्छ ?

जसले ३ महिना अगाडिसम्म स्वतन्त्रको फूर्ती लगाइराखेका थिए, स्वतन्त्र बाहेक सबै कुरा बेकार हुन् भन्दै उफ्रिरहेका थिएँ, पार्टी चाहिँदै–चाहिँदैन, व्यवस्थापिका संसद चाहिँदै–चाहिँदैन, प्रदेश सभा चाहिँदै–चाहिँदैन, संविधान चाहिँदै–चाहिँदैन, संघीयता र पहिचान त झनै चाहिँदै–चाहिँदैन भन्दै थिए, जो ३ महिना अगाडिसम्मको ‘भिजन’ समेत राख्न सक्दैनन् र आज त्यही पार्टीकै अगाडि घुँडा टेक्दैछन्, भने उनीहरूको हातमा कसरी देश र जनताको भविष्य सुरक्षित हुन्छ ? ३ महिना अगाडि समेत आकलन गर्न नसक्ने उनीहरूसँग कुन दूरदृष्टि र भिजन छ होला ? उनीहरूले त सरकार बनाएको ३ महिनामा नै देशलाई कुन खाल्डोमा हाल्ने हुन् भन्न सकिन्न ।

अनि कति त नयाँ नयाँ पार्टी खोलेको २÷४ दिन भएको छैन, कहिले यता मिलाएको छ, कहिले उता मिलाएको छ। अनि यस्ता डामाडोलहरू जसको आफ्नै २ दिनको पनि ठेगान छैन, त्यसको पछाडि जनता लाग्दिनु पर्ने !

अझ तलतिर कथित स्वतन्त्र भनाउँदा युवाहरूको कुरै ठूलो ! उनका गुरूजीहरू त लख्रक्क परेर पार्टीको सपथ ग्रहण गरे, उता तलतिर आगो बालेर म कुनै पार्टीको सदस्य बन्ने छैन भनेर कसम खाँदै गरेका युवाहरू ! उफ्।’

राउतले अन्तमा थपेका छन्, ‘यो अरूको लागि लेखिएको होइन है, हाम्रै पार्टीबाट ‘म त स्वतन्त्र हूँ, पार्टीमा नबस्ने’ भन्दै भटकेका केही आत्माको शान्तिको लागि हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ