काठमाडौं– आज काठमाडौं महानगरपालिकाको ३१ औँ स्थापना दिवस मनाइँदैछ। स्थापना दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गर्दैछ।
महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार सोमबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा स्थापना दिवसको औपचारिक कार्यक्रम हुने छ। कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै स्रष्टा सम्मान कार्यक्रम पनि राखिएको छ। यस अवसरमा १० जना स्रष्टालाई सम्मान गरिने महानगरले जनाएको छ।
महानगरले हरेक वर्ष मंसिर २९ गते आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।
यसै सन्दर्भमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा महानगरले २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो। उक्त सम्मान महानगरका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्यहरू तथा कार्यपालिका अन्तर्गतका समितिका संयोजकहरूले प्रदान गरेका थिए।
स्थापना दिवसका अवसरमा आज महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाका अनुसार महानगर कार्यालयसँगै वडा कार्यालय तथा विद्यालयहरूमा समेत सार्वजनिक बिदा दिइएको हो।
महानगरपालिकाले सूचना जारी गर्दै महानगर अन्तर्गतका सम्पूर्ण विभाग, सचिवालय, आयोजना, इकाई तथा वडा कार्यालयमा कार्यरत सबै कर्मचारीलाई औपचारिक पोशाकमा बिहान ८ बजे नै सैनिक मञ्च टुँडिखेलमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
कार्यक्रम सकिएपछि पनि आज महानगरपालिकाको नियमित सेवा प्रवाह नहुने जनाउँदै सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति महानगरपालिकाले क्षमायाचना गरेको छ।
प्रतिक्रिया