काठमाडौं– एमाले निकट कर्मचारी संगठनमा लामो समयदेखि सक्रिय रहेका अधिकृत गणेश घिमिरेमाथि जेनजीको नाममा उठौती र व्यक्तिगत लाभ लिन खोजेको आरोप लागेको छ। सरकारी सेवाभित्र ‘कामभन्दा बढी बार्गेनिङमा लाग्ने’ कर्मचारीको रूपमा चिनिने उनी पछिल्ला समय विवादका कारण पुनः चर्चामा आएका छन् ।
घिमिरे हाल जेनजी कर्मचारीहरूबीच अगुवा बनेर सक्रिय देखिएका छन् । तर उनीमाथि काम नगरी आन्दोलन र सौदाबाजीमा बढी समय बिताउने आरोप छ । घिमिरे काममा भन्दा प्रचारमा बढी समय बिताउँछन् । उनी नेतृत्वमा रहेको जेनजी कर्मचारी संगठनले हालै गठन गरेको नयाँ संयोजन समितिको पनि आलोचना भइरहेको छ । धेरै कर्मचारीले यो समूहलाई ‘मौकामा चौका हान्ने’हरू भनेर व्यंग गर्दछन् ।
घिमिरेको एकीकृत समाजवादीका नेता प्रेम आलेसँगको विवादास्पद विषय पनि बाहिर आएको छ । काम गरिदिन्छु भनेर आठ लाख रुपैयाँ लिएको विषयमा पनि घिमिरे विवादित छन् । विगतमा सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिकामा कार्यरत हुँदा उनले आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको छ । त्यहाँ कार्यरत वसन्त भट्टराईलाई हटाएर खुम्बु पासाङलामु गएका थिए । उनी एमाले कर्मचारी नेता भोला पोखरेलको दबाबमा त्यहाँ पुगेका थिए । त्यहाँको कार्यकालमा ठुलो आर्थिक अनियमितता गरेर हिँडेको आरोप पनि उनले बोकिरहेका छन् ।
तत्कालीन मुख्यसचिव लोक दर्शन रेग्मीको कार्यकालमा प्रधानमन्त्री कार्यालयका समेत उनले अवैध काम गरेको आरोप लागेको थियो । तर, राजनीतिक दलका कर्मचारीको पुच्छर समातेर उनी जोगिएका थिए । रेग्मीको सेटिङमा उनी प्रधानमन्त्री कार्यालयका संवेदनशील कामहरूसमेत सम्हाल्थे ।
सामान्य परिवारमा हुर्केका घिमिरेको हालको जीवनशैलीबारे पनि प्रश्न उठ्न थालेको छ । लोकन्थलीमा परिवारको सानो किराना पसल भएको भनिने घिमिरे अहिले खुमलटारमा अलिशान बंगला, निजी गाडी र महँगा लत्ता–कपडा प्रयोग गर्ने जीवनशैलीमा पुगेका छन् । उनी प्रायः पाँचतारे होटेलहरूमा चिया–खाजा र मिटिङ गर्ने गर्छन् । उनी कार्यालयमा भने कहिल्यै भेटिँदैनन्।
विगतमा प्रधानमन्त्री कार्यालयबाट काम नगर्ने सूचीमा परेपछि उनलाई हटाइएको थियो । त्यसपछि उनी वित्त आयोगमा स्थानान्तरण भएका हुन् ।घिमिरेले निजामती सेवामा नासुको रूपमा प्रवेश गरेका हुन् । उनले कानुन मन्त्रालयमा रहँदा एमालेको भातृ संगठन निजामती कर्मचारी संगठनको तर्फबाट अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि २०७२ सालमा अधिकृत पदमा पदोन्नति भई २०७३ सालमा ट्रेड युनियनको निर्वाचनमा एमालेको तर्फबाट संगठनका कोषाध्यक्षको उम्मेदवार वनेका थिए । तर पछिल्ला वर्षहरूमा उनको भूमिका बढी विवादास्पद बन्दै गएको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत घिमिरेविरुद्ध विभिन्न उजुरी छ ।
त्यस्तै, जेनजी आन्दोलनमा समेत घिमिरेमाथि आफ्नै सहकर्मीविरुद्ध ‘सुरकी गर्ने’ र आन्दोलनलाई व्यक्तिगत लाभका रूपमा प्रयोग गर्ने आरोप पनि छ ।
प्रतिक्रिया