+
Search

ताजा अपडेट +

पपुलर +

अनुदानको मल वितरणसम्बन्धी नयाँ कार्यविधि कार्यान्वयन गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र

पालिका लाइभ
२०८२ भाद्र ३, मंगलवार

काठमाडौं- सरकारले अनुदानको रासायनिक मल वितरणलाई व्यवस्थित गर्न ल्याइएको नयाँ कार्यविधिबारे देशैभरका सबै स्थानीय तहहरूलाई जानकारी गराउँदै कार्यान्वयनका लागि परिपत्र जारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गर्दै ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ लागू भएको जानकारी गराएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुरोधमा सामान्य प्रशासन मन्त्रालयले उक्त परिपत्र जारी गरेको हो । कृषि मन्त्रालयले भदौ २ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी नयाँ कार्यविधि स्वीकृत भएको र पुरानो निर्देशिका खारेज गरिएको जानकारी सबै स्थानीय तहसम्म पुर्‍याइदिन आग्रह गरेको थियो ।

परिपत्रअनुसार, सरकारले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७’ लाई खारेज गरी त्यसको ठाउँमा नयाँ र परिमार्जित कार्यविधि, २०८२ ल्याएको छ । कृषि उत्पादन तथा उत्पादकत्व बढाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन नयाँ कार्यविधि ल्याइएको कृषि मन्त्रालयले जनाएको छ ।

२०८२ साउन ७ गतेको मन्त्रीस्तरीय निर्णयबाट नयाँ कार्यविधि स्वीकृत गरिएको थियो भने साउन ३० गतेको निर्णयअनुसार पुरानो निर्देशिका खारेज गरिएको थियो ।

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई पठाएको पत्रमा भनिएको छ, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पत्रानुसार अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ जारी भएको विवरणसम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’

यो परिपत्रसँगै अब सबै स्थानीय तहहरूले किसानलाई अनुदानको मल वितरण गर्दा यही नयाँ कार्यविधिअनुसार प्रक्रिया अगाडि बढाउनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ