+
Search

ताजा अपडेट +

पपुलर +

कार्यालय खारेज गर्ने गण्डकी सरकारको निर्णय कर्मचारीले नस्विकार्ने, सरकारलाई बुझाए ज्ञापनपत्र

पालिका लाइभ
२०८२ भाद्र २, सोमबार

पोखरा– गण्डकी प्रदेश सरकारले गरेको कार्यालय खारेजी तथा दरबन्दी कटौतीको निर्णयप्रति प्रदेशका कर्मचारी संघ–संगठनहरूले आपत्ति जनाएका छन् । उनीहरूले सो निर्णय संघीयताको मर्म विपरीत मात्र नभई कर्मचारीको वृत्ति विकासमा प्रहार हुने गरी गरिएको आरोप लगाएका छन् ।

कर्मचारी ट्रेड युनियनहरूले १४ बुँदे संयुक्त मागपत्र तयार गरी प्रमुख सचिव खगेन्द्र सुवेदीलाई बुझाएका छन् । उनीहरूले प्रदेश सरकारको निर्णय तत्काल सच्याउनुपर्ने चेतावनी दिँदै अवज्ञा भए चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका छन् ।

साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै निर्देशनालय खारेज गर्ने र जिल्लास्तरीय ३२ कार्यालयलाई घटाएर १७ मात्र कायम गर्ने निर्णय गरेको थियो । यससँगै १ सय ८५ दरबन्दी कटौती हुने व्यवस्था गरिएको छ । सरकारका अनुसार यसबाट वार्षिक ५० करोड रुपैयाँभन्दा बढी प्रशासनिक खर्च कम हुने प्रक्षेपण गरिएको छ । तर कर्मचारी संगठनहरूले यो तथ्याङ्क असत्य भएको दाबी गरेका छन् ।

उनका अनुसार, कटौती भनिएका अधिकांश दरबन्दी पहिल्यै रिक्त रहेकाले सोही आधारमा ठुलो रकम बचत हुने दाबी तथ्यहीन छ । ज्ञापनपत्रमा भनिएको छ– ‘वास्तविकतामा वार्षिक १७ करोड २ लाख रुपैयाँ मात्र खर्च कटौती हुन्छ । चाडपर्व र तलबमा १२ करोड २ लाख र कार्यालय प्रशासनिक खर्चमा ५ करोड जति मात्र घट्ने देखिन्छ ।’

कर्मचारी संगठन गण्डकीका अध्यक्ष डोलराज पराजुलीका अनुसार सरकारको निर्णय ठोस अध्ययन वा सरोकारवालासँग छलफलविनै हचुवामा गरिएको हो । ‘यो एउटा सतही प्रतिवेदनमा आधारित निर्णय हो, जसले संघीयताको मर्मअनुसार जनताको घरदैलोमा सेवा पुर्‍याउने उद्देश्यलाई उल्ट्याउँदै छ,’ उनले भने ।

संगठनहरूले यो कदमले प्रदेशमा समायोजन भई कार्यरत कर्मचारीहरूको मनोबल गिराएको र भविष्य अनिश्चित बनाएको बताएका छन् । उनीहरूको भनाइमा, एकातिर प्रदेश लोक सेवा आयोगले नयाँ विज्ञापन जारी गरिरहेको छ भने अर्कोतिर वर्षौँदेखि कार्यरत कर्मचारीको दरबन्दी खारेज गर्नु गम्भीर समस्या हो ।

उनीहरूले कार्यालय खारेजी र दरबन्दी कटौतीको निर्णय तत्काल फिर्ता लिनुपर्ने, सबै पक्षको सहभागितामा नयाँ र वैज्ञानिक संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने, र कर्मचारीको वृत्ति विकास सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

यस्तै, संघबाट काजमा आएका कर्मचारीलाई फिर्ता गरी प्रदेशकै कर्मचारीलाई नेतृत्वदायी जिम्मेवारी दिनुपर्ने माग पनि गरिएको छ । सरकारको निर्णयमा सुनुवाइ नभएमा चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत उनीहरूले दिएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ– ‘आगामी दिनमा कर्मचारीसँग सम्बन्धित नीति, कानुन तथा निर्णयमा प्रदेशका कर्मचारीहरू र ट्रेड युनियनहरूसँग सल्लाह–सुझाव गर्नुपर्छ । अन्यथा, हक–अधिकारका लागि थप आन्दोलनात्मक कार्यक्रम घोषणा गर्न हामी बाध्य हुनेछौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ