पर्वत- माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी : मध्यपहाडी जनजागरण अभियान अन्तर्गत बागलुङको निसिखोला, हटिया, बुर्तिबाङ र ताराखोलामा मंगलबार बृहत् आमसभा सम्पन्न भएको छ।
अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीलाई निसिखोला गाउँपालिकाको पातीहाल्नेमा गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्मा, सह-इन्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङलगायतको टोलीले स्वागत गरेको थियो।
सभामा अध्यक्ष प्रचण्डले परिवर्तन अधुरो रहेको उल्लेख गर्दै भने, ‘हामी फेरि जनताकै भरोसामा मैदानमा उत्रिएका हौं। यो अभियान नयाँ युग निर्माणको संकल्प हो।’
उनले मुलुकमा फेरि अस्थिरता निम्त्याउने प्रयासविरुद्ध जनचेतनाको जरो बलियो बनाउन अभियान अघि बढाइएको बताए।
यही अभियान अन्तर्गत भोलि (जेठ ९) पर्वतमा विशेष आमसभा आयोजना गरिनेछ।
कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार पर्वतमा पत्रकार सम्मेलन गरी अभियानको उद्देश्य र तयारीबारे जानकारी दिइयो।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदीप कुँवर, मनहरी तिमिल्सिना र जिल्ला संयोजक उमाकान्त भुर्तेलले अभियान सबै नागरिकको साझा अभियान भएको बताउँदै सहभागी हुन आह्वान गरे।
कार्यक्रमको समापन जेठ १० गते पोखराको चिप्लेढुंगामा बृहत् जनसभासँग हुने जनाइएको छ।
प्रतिक्रिया