+
Search

ताजा अपडेट +

पपुलर +

किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पालिका लाइभ
२०८२ बैशाख ९, मंगलवार

सिरहा– पूर्व वडाध्यक्षलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले जिल्लाको नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडाध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको हो।

सोमवार बिहान साहलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार साहमाथि किर्ते जालसाजीको पुरानो मुद्दा रहेको र त्यससम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

०८० माघ १९ गते नवराजपुर–२ को पूर्व वडाध्यक्ष रहेका खुशीलाल साहले वर्तमान वडाध्यक्ष सुरेश कुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप समेत किर्ते गरेको मालपोत सम्बन्धी बनाइएको चार किल्ला कागजातमा प्रस्ट देखिएको छ । साह स्थानीय तहको पहिलो २०७४ को निर्वाचनमा कांग्रेसबाट वडा नम्बर २ मा निवार्चित भएका थिए। साहले स्थानीय तहको दोस्रो निर्वाचनमा पार्टीले टिकट नदिए पछि एमाले प्रवेश गरी पालिका अध्यक्षमा लडेका थिए। पराजित भएपछि उनी पुनः कांग्रेसमै फर्किएका थिए ।

पूर्व वडाध्यक्ष साहले वडाको पुरानै लेटरहेड प्रयोग गरी हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप समेत किर्ते गरी उनको आफ्नै आमा कुलमतिया देवीलाई चार किल्लाको सिफारिस गरिएको पाइएपछि घटना बाहिरिएको हो। पूर्व वडाध्यक्ष साहले मालपोत कार्यालयमा किर्ते गरी कागजात पेश गरी जग्गा आफ्नो नाममा दर्ता गराएको खुलेको हो ।

सरकारी कागजातमा ठगी, कागज किर्ते र आपराधिक मनसायले झुटो विवरण पेश गरी जग्गा आफ्नो नाममा नामसारी गराएको जानकारी आएपछि आफुले २०८०/११/१३ गते इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा सरकारी कागजात किर्ते र ठगी गरेको प्रमाणसहित आवश्यक कार्यवाहीको लागी वडाबाट निवेदन दिएको वडाध्यक्ष यादवले बताए।

‘साहले पहिला कै लेटरहेड प्रयोग गरी मेरो हस्ताक्षर र कार्यालयको सरकारी छाप समेत किर्ते गरेको जानकारी पाए पछि आफूले सबैतिर कार्यवाहीको लागी निवेदन दिएको हाे,’ उनले भने, ‘यो मान्छे नै जालसाजी छ, उनीमाथि अहिले पनि थाना (प्रहरी) मा ७ वटा भन्दा बढी मुद्दाहरू छ। गल्ती गर्ने मान्छेलाई कानुनले छोड्दैन। म ढुक्क छु,  कानुनले अवश्य न्याय दिने छ।’

साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परे पछि अनुसन्धान थालिएको जिल्ला  प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) वीरेन्द्र पासवानले बताए। उनले भने, ‘पूर्व वडाध्यक्ष साह उपर निवेदन आएपछि अनुसन्धान थालिएको छ ।’ अनुसन्धानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहलाई आज प्रहरीले नियन्त्रणमा लिएको जनाए।

साहमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ