+
Search

ताजा अपडेट +

पपुलर +

मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित सीप मेलाका प्रशिक्षार्थी

पालिका लाइभ
२०८१ चैत्र २३, शनिबार

काठमाडौं– सीप मेलाबाट अटोमोबाइल्स विधामा सीप सिकेका आठ जना प्रशिक्षार्थीहरूलाई सिजी मोटर्सले ‘अन द जब ट्रेनिङ ’ उपलब्ध गराउने भएको छ ।

गएको वर्ष सिप मेलाबाट सिप सिकेका प्रशिक्षार्थीहरूमध्ये ८ जनालाई सिजी मोटर्सले अन द जब ट्रेनिङ प्रदान गर्ने भएको हो । ट्रेनिङ मा जानेले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् ।

यसका लागि महानगरपालिका, चाँगु नारायण फाउन्डेसन र सिजी मोटर्सकाबीच सम्झौता भएको छ । सम्झौतामा सामाजिक विकास विकासका प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र मोटर्सका कार्यकारी निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् । यो सम्झौता आगामी ६ महिनाका लागि हो ।

महानगरपालिकाले अन द जब ट्रेनिङ साझेदारका रूपमा फाउन्डेसनसँग यस अघि नै सम्झौता गरिसकेको छ । महानगरपालिका र फाउन्डेसनले प्रशिक्षार्थी छनोट गर्ने र आधारभूत तालिम प्रदान गर्नेछन् ।

यसरी छानेर पठाइएका प्रशिक्षार्थीहरूलाई सिजी मोटर्सले सुपरभाइजर वा प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । महानगरले तालिमको प्रभावकारिताका लागि निरीक्षण गर्ने, आपसी संवाद र मूल्याङ्कन गर्नेछ ।

फाउन्डेसनले महानगरपालिकासँगको सहकार्यमा प्रशिक्षार्थी छनोट गर्ने, छानिएका प्रशिक्षार्थीहरूलाई मासिक ९ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ । बाँकी पारिश्रमिक मोटर्सले उपलब्ध गराउनेछ । फाउन्डेसनले तालिमको प्रतिवेदन तयार पारेर महानगरपालिकालाई उपलब्ध गराउनेछ ।

टे«निङ्मा पठाउने प्रक्रियाका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘ट्रेनिङमा जान इच्छा देखाउनेमध्ये ३० जनालाई सिभी राइटिङ्को कार्यशाला गरेर व्यक्तिगत विवरण बनाउन सिकाएका थियौँ । उहाँहरूले बनाएको सिभी सिजी मोटर्समा पठाइएको थियो । तीमध्ये २० जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । अन्तर्वार्ता दिएकामध्ये १० जनालाई ट्रेनिङका लागि बोलाइएको थियो । उहाँहरूमध्ये ८ जनाले ट्रेनिङ स्वीकार गर्नुभएको हो ।’

सिप मेलाबाट अटोमोबाइल क्षेत्रमा स्नातक भएका एक सय जना प्रशिक्षार्थीहरूमध्ये २० जना प्रशिक्षार्थीहरूले आफ्नै प्रयासबाट रोजगार पाएका छन् । तीन जना स्वरोजगार भएका छन् । ५१ जना प्रशिक्षार्थीहरू अन–दि–जब तालिममा रुचि राखेकाले उनीहरूलाई सिभी लेखन कार्यशालामार्फत व्यक्तिगत विवरण तयार गर्न लगाइयो ।

सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार कार्यशालामा सहभागी भएका ३० जना प्रशिक्षार्थीहरूका व्यक्तिगत विवरण वि.वाइ.डी, सिजी मोटर्स, हुन्डाइ (लक्ष्मी ग्रुप), भि.जी, मोटर्स, सिप्रदी (टाटा मोटर्स), दीपल अटोमोबाइल्स, सयाकार ट्रेन्डिङ इन्टरप्राइजेज र थी गो (दिगो) लाई पठाइएको थियो ।

यसरी पठाइएका सिभी मध्येबाट सिजी मोटर्सले २० जना प्रशिक्षार्थीलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।

सिप मेला महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ