+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिका महासंघको तेस्रो महाधिवेशन सुरु, नेतृत्वले मुद्दा उठाउन नसकेको गुनासो

पालिका लाइभ
२०७९ मंसिर २५, आईतवार

काठमाडौं– गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनमा सहभागी जनप्रतिनिधिहरुले महासंघको नेतृत्वले स्थानीय तहका मुद्दा उठाउन नसकेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

काठमाडौंस्थित प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन आइपुगेका जनप्रतिनिधिहरुले महासंघले महाधिवेशन र केन्द्रीय समितिको बैठकबाहेक गाउँपालिकाको हक, अधिकार लगायतका विषयमा अन्तर सरकारी समन्वय र लबिङ केही गर्न नसकेको गुनासो गरेका हुन् ।

नुवाकोटको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षहरुलाई निर्वाचन आयोगले जरिवाना गर्दा महासंघ चुइँक्क नबोलेको गुनासो गरे । उनले स्थानीय तहलाई नै धेरै अधिकार संविधानले दिएको भन्दै महासंघ छाता संस्था मात्रै भएको तर्क गरे ।

महासंघको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कतिपय गाउँपालिकाका जनप्रतिनिधिहरु कार्यक्रममा सहभागी हुन आएका छैनन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष मञ्जु बुढाथोकी पनि कार्यक्रममा सहभागी हुन आएका छैनन् । गाउँपालिकाको हकहितका लागि केही गर्न नसक्ने महासंघमा सहभागी हुनुको अर्थ नरहेको मल्ल र बुढाथोकीको भनाइ छ ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले यो अधिवेशनबाट ६ वर्षका लागि नयाँ नेतृत्व चयन हुने बताउँछन् । अधिवेशनमा वित्तीय संघीयता, प्रशासनिक संघीयता, अन्तर सरकार सञ्चालनका चुनौती र सवाल लगायतका विषयमा छलफल हुने छ ।

मंगलबारसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ