काठमाडौं- मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलपछि चार मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुने भएको हो ।
एकीकृत समाजवादीका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बजारबाट भएको निर्णय बजारमै सकिएको प्रतिक्रिया दिएका छन्। छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि तत्काल समाजवादीको निर्णय अलपत्र परेको हो।
समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो।
नयाँ मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गर्ने कार्यक्रम थियो। तर उनीहरुको नाम समाजवादीले प्रधानमन्त्रीलाई पनि दिन नसकेको हो। नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्रीको कार्यालय हुँदै शीतल निवास नपुगेपछि शपथग्रहण पनि अनिश्चित भएको थियाे।
अब स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले यथावत रुपमा काम गर्ने भएका छन् ।
प्रतिक्रिया