+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तह निर्वाचन

पालुङटार नगरपालिका : ‘बखेडा झिक्दै’ जसपा, आयोगले भन्यो- मतगणना नरोक्नु

पालिका लाइभ
२०७९ जेष्ठ ४, बुधबार

गोरखा– स्थानीय तह निर्वाचनको अन्तिम नतिजा आउने क्रममा छ । शनिवारबाट सुरु भएको मतगणनामा जिल्लाका ८ वडा स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ । जिल्लामा सबैभन्दा धेरै वडा भएको गोरखा नगरपालिकाको समेत अन्तिम नतिजा आइसकेको छ ।

गोरखा नगरपालिका पछि जिल्लाको सबैभन्दा धेरै वडा भएको पालिका हो–पालुङटार नगरपालिका । नगरपालिकामा १० वडा रहेका छन् ।

शनिवारबाट सुरु भएको मत गणना वडा न १ र १० बाट सुरु भएको थियो । मतगणनाका क्रममा वडा न ६ को एउटा मतपेटिकाको सुरक्षण सिल चुँडिएको भेटिएपछि मत गणना स्थगित भएको छ ।

त्यसमध्ये वडा न ६ पौवाटार मतदान केन्द्रको एउटा मतपेटिकाको एकातिरको भागको सिल चुँडिएको भेटिएको थियो ।

मतपेटिकाको चारैतिर चारवटा सुरक्षण सिल लगाइएको हुने भए पनि एउटा सुरक्षण सिल चुडिएकाे भेटिएपछि मतगणना रोकिएको हो।

पालुङटारमा नेकपा एमाले र जनता समाजवादी पार्टीवीच चुनावी तालमेल छ । नेपाली कांग्रेस र माओवादी केन्द्र एक्ला एक्लै निर्वाचनमा होमिएका छन् ।

वडा न ६ बाहेकका अन्य वडाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार माओवादी केन्द्रका विवश चिन्तनले ५ हजार ५७१ मतका साथ अग्रता लिएका छन् । उनलाई जसपाका प्रेम बहादुर गुरुङले ५ हजार १३२ मतका साथ पछ्याइरहेका छन् । अब करिब १ हजार २ सय मत गणना हुन बाँकी छ ।

निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको निर्देशन : मतगणना नरोक्नु

निर्वाचन अधिकृतको कार्यालय, पालुङटारका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय, गोरखा मार्फत निर्वाचन आयोगसँग निर्देशन मागिएको दाबी छ ।

आयोगले निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई पठाएको पत्रमा भनिएको छ, ‘मतगणना गर्न राजनीतिक दल तथा उम्मेदवार वा तिनका प्रतिनिधि सहमत नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १ सय ६७ बमोजिम गर्न गराउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने ।’

आयोगको निर्देशन अनुसार अघि बढ्ने विषयमा दलहरू सहमत रहेकाले अब मतगणना अघि बढाउने तयारी भइरहेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ