+
Search

ताजा अपडेट +

पपुलर +

एकीकृत समाजवादीको अपानि : ओलीविरुद्धको विद्रोह जायज, नयाँ पार्टीको औचित्य पुष्टि गरौँ

पालिका लाइभ
२०७८ भाद्र २०, आईतवार

काठमाडाैं- एमाले विभाजित गरेर गठित नेकपा (एकीकृत समाजवादी) ले केपी ओली पक्षले फैलाएका भ्रमको सशक्त रूपमा खण्डन गर्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएको छ।

माधवकुमार नेपाल नेतृत्वको समाजवादीले शनिबार पहिलो अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै आफूहरूबारे ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न निर्देशन दिएको हो। नेपाल नेतृत्वको समाजवादीले जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य पुष्टिका लागि व्यापक प्रचारप्रसार अभियान चलाउन पनि भनेको छ।

ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेलेको निचोड निकाल्दै समाजवादीले पार्टी विभाजन कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरिएको जायज ‘विद्रोह’ भएको दाबी गरेको छ।

अपानिमा ओलीले पार्टी नीतिमुखी, विधि पद्धतिअनुसार नचलाएर स्वेच्छाचारी ढंगले चलाएको आरोप लगाउँदै उनमा व्यक्तिवादी अहंकार हावी भएकाले पार्टी फुट्न पुगेको आरोप लगाइएको छ। अलग्गै भेला गरी पार्टी फुटाउने र कब्जा गर्ने उद्देश्यले ओली समूहले ७ पुसमा १५ सय १ जनाको केन्द्रीय कमिटी निर्माण गरेपछि पार्टीमा थप विवाद चुलिएको दाबी नेपाल पक्षले गरेको छ।

‘ओलीले २८ फागुन २०७७ मा पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरीत केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबर नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर आफ्नो गुटको मात्र बैठक बसी एमालेको नवौं महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीका राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी पार्टीलाई विभाजनको दिशामा धकेलिदिए,’ अपानिमा भनिएको छ।

‘ओलीले संविधानको पालना गरेनन्। पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सबैमा अल्पमतमा परेपछि त्यसको बैठक नै नबोलाउने, बैठक बोलाइहाले पनि छलफल नगर्ने र बैठक बीचमा स्थगित गर्ने काम गरे,’ अपानिमा भनिएको छ, ‘पार्टीभित्र उत्पन्न गम्भीर विवाद, मतभेद र समस्याबारे पार्टी कमिटीभित्र आवश्यक छलफल तथा बहस गरेर समस्या समाधान गर्नतर्फ नलागेर आफूखुसी मनपरी तरिका अपनाउँदै असंवैधानिक ढंगले दुई पटकसम्म संसद् विघटन गरे।’

‘सर्वोच्च अदालतले वादी पक्षले माग नै नगरेको विषमा प्रवेश गरेर ३ जेठ २०७५ मा भएको पार्टी एकतालाई खारेज गर्दै एकतावद्ध भएका दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदियो। अदालतले एकता गर्ने भए अर्को नाम लिएर १५ दिनभित्र आउन भनेकै थियो,’ अपानिमा भनिएको छ, ‘ओलीले एकता जोगाउने पहल गरेनन् । हामीले पार्टी एकता कायम राख्न त्यही अवस्थाबाट अगाडि बढ्ने अडान राख्यौँ। तर ओलीको दक्षिणपन्थी एवं बिसर्जनवादी सोच र सिंगो पार्टी कब्जा गर्ने तथा आफ्नो एकलौटी वर्चश्व कायम राख्ने चाहनाले एमालेलाई नै विघटन गर्ने दिशामा लैजाने काम भयो ।’

एकता कुनै एक पक्षले चाहेर मात्रै नहुने भन्दै समाजवादीले ओलीले एकताका लागि वार्ताको नाटक गरेको आरोप पनि लगाएको छ। ओलीले एकताका लागि वार्ता गर्न खटाइएका व्यक्तिहरूले वार्ताको पहलभन्दा जालझेल गरेको आरोप लगाइएको छ ।

‘१० बुँदे कथित सहमति गरियो, जुन केपी ओली पक्षको गम्भीर षडयन्त्रको कदम मात्र थियो । १० वटै बुँदा प्राकृतिक प्रकृतिका छन्,’ समाजवादीले भनेको छ। ओली प्रवृत्तिविरुद्ध वाम-लोकतान्त्रिक गठबन्धन बनेकाले यसलाई आगामी निर्वाचनसम्म कायम राखिने दाबी पनि समाजवादीले गरेको छ। 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ