काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो।
जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो। उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए। एकजना सदस्य रेशम चौधरी तटस्थ बसेका थिए।
प्रतिक्रिया