+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपाल भन्छन् : श्री ५ बडामहाराज खुशी हुनुभयो, हामीलाई आममाफी मिलेछ !

पालिका लाइभ
२०७८ श्रावण ८, शुक्रबार

काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै ओली अझै परिवर्तन नभएको बताए ।

नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आम माफी दिइन्छ, एम्नेस्टी इज ग्रान्टेड, अनि हामी गद्गद् भयौँ, महाराजाधिराज, हामी गद्गद् भयौँ, वाह वाह वाह, महाराजाधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुसी हुनु पर्ने भयो, यही हो कम्युनिस्ट पद्धति ? स्पष्टीकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो । मेरो निवासअघि राति मोटरसाइकलमा आएका १५/२० जनाले तर्साउन खोजे तर माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिस्टको, त्यत्तिकै डराउँदैन ।’

उनले एकतामा असर पुग्ला भनेर आफूले बिहीबारका २ कार्यक्रममा ख्याल गरेर बोलेको बताए । भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए । उनले कोटेश्वरमा आफ्नो निवास अगाडि राती मोटरसाइकलमा पन्ध्र बीस जना बसेर तर्साउन खोजेको समेत खुलासा गरेका छन् । आफू त्यस्तो प्रवृतिबाट नतर्सिने उनले बताए ।

नेता नेपालले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताए । उनले अघिल्लो वर्ष यही विषयको कार्यक्रमा बोल्ने क्रममा पार्टीमा संकट आएको उल्लेख गरे । गत बर्षदेखि केपी ओलीले पार्टीको विधी पद्धतिलाई उल्लंघन गर्दै आफ्नै तरिकाले अगाडि बढ्दै गएको बताए ।

नेता नेपालले यसअघिपनि कम्युनिष्ट पार्टीमा विवाद र समस्या आएको बताउँदै यस्ता विषयमा थुप्रै छलफल गरेको बताए । सिद्धान्तको बारेमा छलफल गरेको बताउँदै नेपाली कम्युनिष्ट आन्दोलनको उकाली ओराली पार गर्दै अगाडि बढेको बताए । कम्युनिष्ट पार्टी कस्तो हुने भनेर विवाद भइरहेका बेला चीनको कम्युनिष्ट पार्टी धेरै माथि पुगेको उदाहरण दिए । उनले विश्वभरका पुँजीवादीहरुको चीनको समाजवादी ब्यवस्था चम्किरहेको देखेर चकित परिरहेको टिप्पणी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ