गोरखा- स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले स्थानीय तहदेखि वडा तहसम्मका सबै विवरण वेबसाइटमा पाउन सक्ने भन्दै सार्वजनिक गरेको भए पनि गोरखाका स्थानीय तहका वेबसाइट भने ‘अपडेट’ हुनै छाडेका छन् ।
स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै सार्वजनिक भएको जिल्लाका स्थानीय तहका वेबसाइट भने ‘अपडेट’ नभएका हुन् ।
२ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखाका हरेक स्थानीय तहमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सूचना प्रविधि अधिकृत उपलब्ध गराएको भए पनि स्थानीय तहका वेबसाइट बर्दिनसम्म पनि अपडेट छैनन् ।
गोरखा नगरपालिकाको वेबसाइटमा साताै नगर सभाबाट पारित भएको बजेट आजसम्म अपडेट भएको छैन । नगर पालिकाको वेबसाइटमा नीति तथा कार्यक्रम मात्र नयाँ छ । पालुङटार नगर पालिकाको वेबसाइटमा पनि त्यही समस्या छ । असार १० गते सार्वजनिक भएको बजेट तथा नीति तथा कार्यक्रम समेत यो वेबसाइटमा उपलब्ध छैन ।
बारपाक-सुलिकाेट, अजिरकाेट र सिरानचाेक गाउँपालिका साइट समेत अपडेट छैन । सुलिकाेट र अजिरकाेटले असार १० गते बजेट ल्याइसकेका छन् भने सिरानचाेकले असार ३१ गते ल्याएको हो । यी गाउँपालिकाका वेबसाइटमा अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मात्र छ । नयाँ केही अपडेट भएका छैनन् ।
आरूघाट, भीमसेन थापा, गण्डकी सहिद लखन र धार्चे गाउँपालिकाका वेबसाइट मध्ये धार्चे र आरूघाटकाे केही मात्रामा अपडेट भएको पाइन्छ । तर सूचना तथा प्रविधिमैत्री नगरपालिका र गाउँपालिका भन्दै दाबी गर्ने जिल्लाका स्थानीय तहका वेबसाइट भने बर्दिनसम्म पनि अपडेट भएको छैन ।
उत्तरी जिल्लाको चुमनुव्री गाउँपालिकामा इन्टरनेटको सुविधा नभएकाले खासै अपडेट भएको छैन । त्यो गाउँपालिकाको कति कर्मचारी छन् । को कार्यालय प्रमुख हो त्योसमेत उपलब्ध छैनन् ।
प्रतिक्रिया