+
Search

ताजा अपडेट +

पपुलर +

३ अर्ब लागतमा धुर्मुस–सुन्तलीले बनाउने भए भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

पालिका लाइभ
२०७५ माघ १६, बुधबार

काठमाडौं– धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने घोषणा गरेको छ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको बुधवार राष्ट्रिय सभागृह काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गरिएको हो।

कार्यक्रममा फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर समेत भएको छ। फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कट्ठा जग्गामा रङ्गशाला बन्ने छ।

रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए।सो रङ्गशालालाई एकेडेमीका रूपमा विकास गरिने लक्ष्य राखिएको छ। सो जग्गा रङ्गशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यसअघि नै सम्झौता भइसकेको छ।

सामाजिक क्षेत्रमा सक्रिय फाउन्डेसनले नेपालमा रङ्गशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका थिए। कतिपय देशमा रङ्गशाला निर्माणका लागि रकम संकलन समेत थालिएको थियो।

कट्टेलकाअनुसार औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने छ। रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने बताएको छ।

राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउन्डेसनले आह्वान गर्दै आएको छ। अध्यक्ष कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ