+
Search

ताजा अपडेट +

पपुलर +

काे बन्ला पत्रकार महासंघ गाेरखाकाे सभापति !

पालिका लाइभ
२०७३ माघ २३, आईतवार

जिल्लामा नेपाल पत्रकार महासंघ गोरखाको नयाँ नेतृत्व को होला भनी सरोकारवाला निकायहरू वीच दैनिक चिया गफ बाक्लै हुन थालेको छ । दुई जना पत्रकार जम्मा भएपछि यिनीहरू के भन्छन् भनी चासो गरिन्छ । सभापति भन्ने बित्तिकै हुरुक्कै हुनेहरूको जमात पनि सानो छैन ।

म सभापति बन्न पाए यस्तो उस्तो गर्थेँ भनेर अहिले चिया गफमा भन्नेहरूको लर्को पनि लामै छ । जिल्लामा महाविपत्ति आइपर्दा साहसका साथ काम गर्ने पत्रकारहरूको उपस्थिति न्यून भए पनि अधिवेशनको सरगर्मी चलिरहँदा यहाँ पत्रकारहरूको खडेरी छैन । भूगोलको हिसाबले ठूलो र कामकाजी रूपमा विकट भौगोलिक बनावट रहेको गोरखा जिल्लामा सुरुको उमेर देखि नै पत्रकारिता पेशा मात्रै गरेर उमेर ६० कटाउने उम्मेदवार पाउन पनि कठिन छ ।

म सिनियर हुँ, म भूपू हुँ भन्नेहरूको मनन योग्य लेख र उनीहरूको असल कृतिको अध्ययन गर्न पनि यस समूहले पाएको छैन । आदरणीय अग्रजहरूको लेखाकृति अध्ययन गर्ने र आफ्नो क्षमतामा विकास गर्न पाउने अवसर छिट्टै आयोस् भन्ने पत्रकारहरूको समूह कम्ती छैन ।कथा कतिपय सत्य हुन्छन् त कतिपय काल्पनिक हुन्छन् ।

यथार्थ कुरा पत्याउन हम्मे पर्दछ । कठिन भूगोलका वीच आशालाग्दो भविष्य बोकेको जिल्ला हो गोरखा । यहाँका एक दुई वटा कार्यालयका प्रमुखहरू गोरखाको विकास विरोधी भए, केहीले राम्रा काम गर्न जानेनन् भनेर सबै सम्भावनालाई नकार्न सकिँदैन । गोरखामा बसेर पत्रकारिता गर्दै गर्दा आम गोरखावासीलाई सधैँ कर्मप्रति विश्वास र भविष्य प्रति आशावादी बनाई राख्न सकिन्छ ।

कर्ममा विश्वास गर्ने, समाचार लेखेर दुईओठ जोड्ने पत्रकारले के जानेको छ, भन्नेहरूको जमात पनि कम्ता सानो नहुन सक्छ । यद्यपि सम्भावना र चुनौतीसँग खेल्न र जित्न पत्रकारहरू कति माहिर हुन्छन् भन्ने कुरा सम्पादन पछिका समाचारले बताउँदै आएका छन् । बिहान स्थानीय पत्रिका हातमा परेन, कुनै स्थानीय एफएम, रेडियोले समाचार भनेनन् भने हैन आज कहाँ के भयो भन्ने आवाज सुनिन्छ ।

यसबाट प्रस्ट हुन्छ कि समाचार नबज्दा त एउटा प्रभाव पर्छ, समाचार बजेपछि त्यसका सकारात्मक पक्षहरू हुने भए । साँच्चै गोरखामा अव पत्रकारको नेतृत्व को होला ? राजेन्द्र न्यौपाने १ कैलाशबाबु श्रेष्ठ ! किशोरजंग थापा ! वा अन्य कोही । गोरखाका नागरिकहरू वीच आम चासोका विषय बनेका छन् ।

यहाँ पात्र कुन आउँछ भन्ने कुराले गोरखाली पत्रकार माझ कुनै अर्थ राख्दैन । स्थापना कालदेखि गोरखाको पत्रकारितालाई यहाँसम्म ल्याउन शुक्रराज पन्त, रामशरण आचार्य, किशोरजंग थापा, भीमलाल श्रेष्ठ, कैलाशबाबु श्रेष्ठ लगायत धेरै अग्रज साथीहरूले महत्त्वपूर्ण भूमिकामा रहेर आफूले सकेको काम गर्नुभयो ।

उहाँहरूले यहाँसम्म ल्याइदिनुभएकोमा यहाँका पत्रकार साथीहरूले सगर्वका साथ धन्यवाद तथा सम्मान प्रदान गरेका छन् ।हिजोका दिनमा कान्तिपुरमा समाचार लेख्न, द्वन्द्वका समयमा अन्नपूर्ण एफएममा समाचार सम्प्रेषण गर्न प्रविधिले साथ नदिँदा त्यति सहज पक्कै पनि भएन होला ।

आज प्रविधिले साथ दिएको छ र सबै पत्रकारहरूलाई काम गर्न र ठुला सपना देख्न सजिलो भएको छ । अन्य जिल्लाको तुलनामा सङ्ख्यामा हामी थोरै जना पत्रकारहरू भए पनि गोरखा जिल्लालाई अगाडि बढाउन हरतरहले लागि परेकै छौँ । अन्य संघ संस्थाका तुलनामा एकताबद्ध र कर्मप्रति प्रतिबद्ध भएकै छौँ ।

यसबाट पत्रकारहरूको ऐक्यबद्धता र एकताको मन नपराउनेहरूलाई गतिलो जवाफ समेत भएको छ ।पत्रकारहरूले आफ्ना नेतृत्व कहिल्यै चुनाव गरेर छानेका पनि छैनन् । हामीहरू सधैँ मिलेर एक अर्कालाई सहयोग गरेर अघि बढेका छौँ । यस बिचमा पत्रकारहरूलाई उक्साउन खोज्ने राजनैतिक पार्टी, अघि बढ्न नसकेका तिनका केही नेताहरूको अहङ्कारी भूमिकामा पत्रकारहरू भर परेका पनि छैनौँ । पत्रकारको नेतृत्व पत्रकार आफैले छान्दै आएका छौँ ।

सांगठनिक अवस्थामा यतिबेला सबै पत्रकारहरू बलिया छन् । क्षमतावान् छन् । काम गर्न सक्ने खुबी भएका छन् । यो हामी पत्रकारहरूका लागि घमन्ड गर्न लायक विषय छ । यही वीचबाट हामीहरूले हाम्रो सर्वमान्य नेतृत्व छनौट गर्नुछ । साथीहरू सबैले अवसर पाउनुपर्दछ यो पटक तपाईँले नेतृत्व गर्नुस् भन्नुहुन्छ र मिलाई हाल्नुहुन्छ ।

दिनभरिका समाचारलाई पत्रिकामा मिलाएर राखेझैँ आफ्नो संगठन मिलाउन पत्रकारहरू निक्कै सिपालु भैसकेका छौँ । हामीलाई यो स्थान सम्म ल्याइपुराउन सहयोग गर्नुहुने हाम्रा पाठक, शुभचिन्तक सबैलाई धन्यवाद प्रदान गर्दछौँ ।भावना र विचारमा हामी जति एकताबद्ध र बलिया छौँ हामी आफ्नै आश्रम व्यवस्थापनमा कतै न कतै पछि पनि परेका छौँ ।

सबैका घरका समाचार लेख्ने हामी पत्रकारहरू बस्ने घर त के यो हाम्रो भनेर खुट्टा राख्ने जमिनको टुक्रा समेत छैन । हुन त सबैका घर हाम्रा पनि घर हुन, जमिन हाम्रा पनि जमिन हुन् । भोगचलन गर्ने समयमा र अन्य जिल्लाको अवस्थालाई हेर्दा हामीलाई असहज हुने गरेको छ । संगठन मिलाई राख्नुपर्ने सिंगो जिल्लाको पत्रकारितालाई अगाडि बढाउने क्रममा यस अघिका नेतृत्वले काम गर्दा गर्दै पनि समय अभावले सबै व्यवस्थापन गर्न पाउनुभएन ।अव आफ्नै सम्पत्ति जोड्ने र आश्रमको व्यवस्थापन गर्ने जिम्मा हामीलाई सरेको छ ।

हामी सबैले एक स्वरका साथ भन्छौँ नयाँ नेतृत्वले सम्हाले पछिका ६ महिना भित्रमा ६ आना भन्दा बढी जग्गा पत्रकार महासंघ गोरखा शाखाको नाममा रातो पुर्जा लिएर जग्गाधनी बन्नेछौँ । त्यो जग्गा कुनै दुर्गम बस्ती, खोल्सा, सार्वजनिक जग्गा, विवादित जग्गा नभई स्वतःस्फूर्त रूपमा प्रदान गरिएका सहयोगबाट प्राप्त गर्दछौँ ।

त्यो जग्गा सबै सुविधा युक्त र राजमार्गबाट मापदण्ड अनुसारको रेखाभित्र सदरमुकामको केन्द्र भागमा कायम गर्दछौँ । यसका लागि प्रेस सेन्टर नेपाल सुरुमा एकलाख प्रदान गर्दछ ।जग्गा पास गर्ने समयसम्म २० लाख सहयोग प्रदान गर्दछ । यसका लागि नेतृत्व सर्वस्वीकार्य हुनुपर्दछ । साँच्चै सबै पत्रकारहरूको साझा नेतृत्व बन्न सकेन भने पनि प्रेस सेन्टर नेपाल र गोरखा शाखाको तर्फबाट नेपाल पत्रकार महासंघ गोरखालाई घरभाडा तिर्नका लागि सहयोग स्वरूप आगामी साउनदेखि प्रतिवर्ष ५००० का दरले प्रदान गर्दछ ।

यो कुनै महत्वकाँक्षी योजना र बेलुन फुकाई होइन यथार्थ धरातलमा टेकेर गरिने कार्य हुन् । यी कामका लागि प्रेस सेन्टर नेपालले पत्रकार महासंघ गोरखाको नेतृत्व गर्नुपर्दछ । सबै पत्रकार साथीहरूले यसलाई सहर्ष स्वीकार गर्नुहुनेछ । सबै पक्षबाट हामी पत्रकार साथीहरू बलिया भएपनि नीति निर्माणको तहमा अझै हस्तक्षेप गर्नुपर्ने भएको हुँदा संस्थागत विकासमा अगाडि बढ्न कठिन भइरहेको छ ।

यसका लागि नीति निर्माण तहमा हामी पत्रकारहरूले चाहेको नेतृत्व पुग्नुपर्दछ । उदयमान युवाहरूलाई अध्यारोपमा राखेर दोहोरो नेतृत्वको पक्षमा प्रेस सेन्टर नेपाल उभिएको छैन । अग्रजहरूको सम्मान गर्न हामीहरू आतुर छौँ । यसका लागि सबै पक्षको सहयोग र सद्भावको अपेक्षा गर्दछौँ ।

प्रतिबद्धता गरिएका कामहरू यथासमयमा नभए एक मिनेट पनि महासंघमा प्रेस सेन्टरका नेतृत्व लगायत सदस्यहरू नरहने समेत प्रतिबद्धता गर्दछौँ । संस्थागत विकासका लागि प्रेस सेन्टर प्रतिबद्धता सहित आगामी कार्यकालका लागि नेपाल पत्रकार महासंघ गोरखाको नेतृत्व सम्हाल्न आतुर रहेको र सोही अनुसार व्यवस्थापनमा जुट्न सम्पूर्ण पत्रकार साथीहरूलाई हार्दिक अपिल गर्दछौँ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ