+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको नीति तथा कार्यक्रम अस्विकृत, बनटार केन्द्र राख्ने प्रस्तावमा बहुमत पुगेन

पालिका लाइभ
२०७७ आश्विन १४, बुधबार

गोरखा- लामो समयदेखि जारी गोरखाको गण्डकी गाउँपालिकाको केन्द्रसम्बन्धी विवाद कायमै रहेको छ।

एक पक्षले गाउँपालिकाको केन्द्र बनटार हुनुपर्ने माग गर्दै आएकोमा सोसम्बन्धी प्रस्तावमा गाउँपालिका अध्यक्ष होमबहादुर रानामगरले निर्णयार्थ प्रस्तुत गर्दा प्रस्ताव अस्वीकृत भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीयरी अधिकृत पुरुण गुरुङले अध्यक्षले निर्णयार्थ प्रस्तुत गरेसँगै भोटिङ हुँदा बनटारलाई केन्द्र बनाउने प्रस्ताव अस्वीकृत भएको जानकारी दिए ।

मंगलवार बसेको गाऊँसभामा पालिकाले पेश गरेको नीति तथा कार्यक्रममा नेकपाका जनप्रतिनिधिहरुले असहमति जनाए ।

त्यसपछि सभामा निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको विपक्षमा २५ मत र पक्षमा १८ मत परेको थियो । नीति तथा कार्यक्रमको बुँदा नम्वर २ मा चालु आर्थिक वर्ष गाऊँपालिकाको प्रशासकीय भवन बनाउने प्रस्ताव गरिएको थियो ।

बनटारको पक्षमा जम्मा २१ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ। कुनै पनि स्थानीय तहको केन्द्र परिवर्तनका लागि कार्यपालिकाको दुई तिहाइ मत आवश्यक रहन्छ ।

हाल गाउँपालिकाको अस्थायी कार्यालय भुम्लिचोकमा रहेको छ भने सो केन्द्र आफूहरुलाई अपायक परेको भन्दै एक समूहले असन्तुष्टि जनाउँदै आएको छ । सोही केन्द्र परिवर्तनको विषय अहिले राजनीतिक प्रतिष्ठानको सवाल समेत बनेको छ ।

बनटार केन्द्र रहने प्रस्ताव अस्वीकृत भएसँगै तत्कालका लागि गाउँपालिकाको केन्द्र भुम्लिचोक नै कायम रहेको छ । केन्द्रकै विवादका कारण सो गाउँपालिकाको गाउँसभासमेत प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ