+
Search

ताजा अपडेट +

पपुलर +

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधारः : चन्द्र ढकाल

पालिका लाइभ
२०८३ भाद्र १, सोमबार

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक र सांस्कृतिकसँगै आर्थिक र व्यावसायिक साझेदारीको जीवन्त उदाहरण भएको बताए ।

हजारौँ नेपाली युवाले कोरियामा काम गरी हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति रहेको उनले औँल्याए ।

कोरियाले साठी वर्षअघि गरिबीबाट औद्योगिक शक्तिमा फड्को मार्दा अपनाएको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन र सरकार–निजी क्षेत्रबीचको समन्वय जस्ता पाठ नेपालमा पनि लागू हुन सक्ने उनले बताए ।

रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सकेमा नेपालको औद्योगिक चरित्र नै परिवर्तन हुन सक्ने उनको भनाइ थियो।

जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि लगायत साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा प्रशस्त लगानी सम्भावना रहेको बताउँदै निवर्तमान अध्यक्ष ढकालले भारत–चीनसँगको भौगोलिक निकटता र सुध्रिँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन आधारका रूपमा स्थापित हुने अवसर दिएको बताए । लगानीमैत्री नीति र एकद्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको र यो अभियान थप तीव्र पारिनुपर्ने आवश्यकता उनले औँल्याए ।

देशभर छरिएर रहेको साना पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै उनले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि कम्पनीले लगानी साझेदार बन्ने र सानो पुँजी भएकाहरूका लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सकिने बताए ।

रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रलाई सबैभन्दा बढी आवश्यक रहेको बताउँदै स्वदेशमा उद्यम स्थापनाका क्रममा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको नियमित संवादबाट हटाउन सकिने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ