+
Search

ताजा अपडेट +

पपुलर +

केन्द्रका कार्यक्रम प्रदेश र स्थानीय तहले रोकिरहेका छन् : महामन्त्री आचार्य

‘संघीय सरकारले ल्याएका महत्त्वपूर्ण योजना कार्यान्वयन गर्न दिइएन’

पालिका लाइभ
२०८३ श्रावण २३, शनिबार

रुपन्देही– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले संघीय सरकारले ल्याएका महत्त्वपूर्ण कार्यक्रम कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहबाट अवरोध भइरहेको दाबी गरेका छन्।

एक कार्यक्रम सम्बोधन गर्दै उनले प्रदेश र स्थानीय तहमा रास्वपाको नेतृत्व नरहेकाले संघीय सरकारका कार्यक्रम कार्यान्वयनमा समस्या भइरहेको बताए।

‘केन्द्र सरकारले गर्न खोजेका कतिपय कुरा रोक्न र अप्ठ्यारो पार्न खोजिएको छ। ग्यास, मल वितरणलगायतका विषयमा यो प्रत्यक्ष देखिएको छ। अन्य विषय पनि कार्यान्वयन गर्न सकिएको छैन,’ उनले भने।

रास्वपा स्थापना भएको चार वर्ष भएको उल्लेख गर्दै आचार्यले सरकारले सही दिशामा काम गर्छ भन्ने विश्वास जनतामा रहेको बताए। सरकारले गर्न खोजेका सही काम नागरिकमाझ पुर्‍याउन नसकिएको हुन सक्ने भन्दै उनले चार महिनामै सबै कुरा ठीक हुन्छ भन्ने अपेक्षा राख्न नहुने धारणा राखे।

‘अहिले नै हिम्मत हार्नु हुँदैन। यो समयमा सबैभन्दा बढी विश्वास गर्नुपर्छ,’ उनले भने। ३६ वर्षदेखि बिग्रिएको देश बनाउने जिम्मेवारी रास्वपाले पाएको दाबी गर्दै उनले चार महिनामै सबै समस्या समाधान सम्भव नहुने बताए। कम्तीमा पाँच वर्ष रास्वपालाई साथ दिन उनले नागरिकसँग आग्रह गरे।

‘चाँडो नतिजा दिने हिसाबमा गइयो भने दुई–चार दिन नतिजा दिइएला। तर त्यो दिगो हुँदैन। दिगो नतिजा बनाउन देश बलियो बनाउनुपर्छ। अहिले सरकारले देश बलियो बनाउने दिशामा काम गरिरहेको छ,’ उनले भने। २०७९ सालअघिका सरकारका पालामा काण्डैकाण्डका समाचार आउने गरेको दाबी गर्दै आचार्यले पछिल्लो चार महिनामा एउटा पनि काण्डको समाचार नआएको बताए।

नागरिकको विश्वासमाथि आफूहरूले कहिल्यै कुठाराघात नगर्ने दाबी गर्दै उनले देश बनाउन समय लाग्ने भएकाले त्यस अवधिमा नागरिकको साथ आवश्यक रहेको बताए।

आचार्यले आफूहरूले गलत काम गरे प्रश्न गर्नसमेत नागरिकलाई आग्रह गरे। ‘हामीले गलत गर्दा प्रश्न गर्न नहिचकिचाउनुहोला। तपाईंहरूको प्रश्नले हामीलाई बलियो बनाउँछ,’ उनले भने।

सरकारलाई आउने प्रश्न खबरदारीका लागि भएको र ठूलो अपेक्षाका कारण नागरिकले प्रश्न गरिरहेको उनको भनाइ थियो। आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पनि रास्वपालाई साथ दिन उनले आग्रह गरे। चार महिनामै ३६ वर्षदेखिको बेथिति सुधार्न आफूहरूसँग ‘जादुको छडी’ नभएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ