गोरखा– भीमसेनथापा गाउँपालिकाले आर्थिक वर्षभर विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ।
आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले गरेको कुल १३ करोड ५ लाख ५८ हजार रुपैयाँ पुँजीगत खर्चमध्ये ५१.५१ प्रतिशत रकम असार महिनामा मात्रै खर्च गरेको छ। चौथो त्रैमासिकमा मात्रै ६८.७७ प्रतिशत विकास बजेट खर्च भएको देखिन्छ भने पहिलो त्रैमासिकमा खर्च १.७९ प्रतिशत मात्रै रहेको छ।
विकास बजेटको यस्तो वितरणले गाउँपालिकाको योजना कार्यान्वयन प्रणालीमाथि प्रश्न उठाएको छ। आर्थिक वर्षको अधिकांश समय योजना कार्यान्वयन सुस्त हुने र अन्तिम महिनामा ठूलो परिमाणमा बजेट खर्च गर्ने प्रवृत्तिले निर्माण कार्यको गुणस्तर, पारदर्शिता र सार्वजनिक खर्चको प्रभावकारितामा असर पुग्ने महालेखाको निष्कर्ष छ। वर्षको अन्तिम समयमा हतारमा काम गर्दा प्राविधिक परीक्षण, अनुगमन र गुणस्तर नियन्त्रणसमेत प्रभावित हुने जोखिम औँल्याइएको छ।
महालेखाले विकास खर्चको ढिलाइलाई गाउँपालिकाको योजना तथा खरिद व्यवस्थापनसँग पनि जोडेको छ। प्रतिवेदनअनुसार गाउँपालिकाले खरिद गुरुयोजना तथा वार्षिक खरिद योजना तयार नगरी विकास आयोजना सञ्चालन गरेको छ। सम्पन्न योजनाको सार्वजनिक सुनुवाइ र सार्वजनिक परीक्षण नगरिएको, निर्माण सामग्रीको गुणस्तर परीक्षण नगराइएको तथा उपभोक्ता समितिमार्फत सम्पन्न आयोजनाको प्रभावकारी अनुगमनसमेत नभएको उल्लेख गर्दै महालेखाले योजना कार्यान्वयनका आधारभूत प्रक्रिया नै कमजोर रहेको औँल्याएको छ।
प्रतिवेदनले बजेट तर्जुमा र कार्यान्वयन प्रक्रियामा पनि सुधार आवश्यक रहेको जनाएको छ। मध्यमकालीन खर्च संरचना, बजेट सीमा निर्धारण र वार्षिक योजना निर्माणसम्बन्धी कानुनी व्यवस्थाको पूर्ण पालना नभएको उल्लेख गर्दै महालेखाले विकास योजना समयमै तयारी, खरिद प्रक्रिया प्रारम्भ र वर्षभर सन्तुलित रूपमा बजेट खर्च गर्न गाउँपालिकालाई सुझाव दिएको छ।
स्थानीय तहमा विकास बजेट असार महिनामा केन्द्रित हुने प्रवृत्ति नयाँ होइन। तर भीमसेनथापा गाउँपालिकाको पछिल्लो प्रतिवेदनले योजना छनोटदेखि खरिद प्रक्रिया र कार्यान्वयनसम्मका चरण समयमै अघि नबढ्दा अधिकांश बजेट वर्षको अन्तिम महिनामा खर्च हुने अवस्था दोहोरिएको देखाएको छ।
याे पनि,
भीमसेनथापा गाउँपालिकामा अझै ७ करोड बेरुजु, महालेखाले फेरि दोहोर्यायो एउटै प्रश्न
खरिद योजना नै नबनाई करोडौंको योजना, महालेखाले औँल्यायो भीमसेनथापाको कमजोरी
प्रतिक्रिया