गोरखा– सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक योजना तथा कार्यक्रम निर्माणको पूर्वसन्ध्यामा दोस्रो सिरानचोक विज्ञ सभा आयोजना गर्ने भएको छ।
गाउँपालिकाका अनुसार विज्ञ सभा जेठ ८, ९ र १० गते गाउँपालिका–२ थालाजुङस्थित कृषक समूह भवनमा सञ्चालन हुनेछ। सभामा विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञ, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीच छलफल गरी आगामी योजना तथा कार्यक्रमलाई प्रभावकारी, दिगो र कार्यान्वयनयोग्य बनाउने लक्ष्य राखिएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि स्थानीय तहहरू नीति, कानुन निर्माणदेखि योजना कार्यान्वयनसम्म सक्रिय रहेको सन्दर्भमा सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै समुदायको वास्तविक आवश्यकतासँग मेल खाने योजना बनाउनु चुनौतीपूर्ण रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ देखि विज्ञ सभाको अभ्यास सुरु गरेको हो। अघिल्लो वर्षको विज्ञ सभाबाट प्राप्त सुझाव र मार्गदर्शनका आधारमा वार्षिक योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन भइरहेको गाउँपालिकाले जनाएको छ।
यस वर्षको विज्ञ सभामा सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिता अध्ययन, नयाँ तथा प्रभावकारी योजनाको सिफारिस, नीति समीक्षा, क्षेत्रगत मापदण्ड निर्माण, गेम चेन्जिङ योजना तथा आगामी कार्यदिशाबारे छलफल हुने प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले बताए ।
कार्यक्रमको पहिलो दुई दिन आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र वन, वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी विषयगत समितिका आधारमा छुट्टाछुट्टै समूहमा छलफल हुनेछ। अन्तिम दिन पाँचवटै विषयगत समितिबाट तयार प्रतिवेदन प्रस्तुत गर्दै विज्ञ सभा सञ्चालन गरिनेछ।
गाउँपालिकाले सिरानचोकका स्थायी बासिन्दा, छिमेकी पालिका, देश–विदेशमा रहेका विज्ञ तथा सरोकारवालालाई सभामा सहभागी भई सुझाव दिन आग्रह गरेको छ।

प्रतिक्रिया