+
Search

ताजा अपडेट +

पपुलर +

‘सिजन’को सुरुवातमै अलैँचीको भाउ ७ वर्ष यताकै उच्च, मंसिर-पुसतिर अझै बढ्ने

पालिका लाइभ
२०८२ भाद्र २, सोमबार

झापा– ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुवाती ‘सिजन’मा नै उच्च भाउ पाएको छ।

अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रति मन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए।

‘यो निकै राम्रो भाउ हो,’ उनले भने, ‘गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रति मन ४० हजार रुपैयाँसम्ममा भएको थियो।’

अलैँचीको यो भाउ विगत ७ वर्षकै उच्च मानिएको छ।

विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रति मन मूल्य १ लाख ५ हजार रुपैयाँसम्म पुगेको थियो। सोही सालको मंसिरमा मूल्य अझ बढेर प्रति मन १ लाख ७ हजार रुपैयाँ पुगेको थियो।

२०६७ सालमा प्रति मन अलैँची १ लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो। त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन।

भदौ-असोजतिर भाउ धेरै हुनु भनेको मंसिर-पुसतिर अझै बढ्न सक्ने संकेत भएको उनको भनाइ छ। अहिले बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा किसान उत्साही भएका हुन्। किसानबाट यतिबेला किनेको अलैँची भण्डारण गरेर व्यापारीहरूले मंसिर-पुसतिर भाउ आकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन्।

‘एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म लगानी गरेका हुन्छन्,’ महासंघका कार्यकारी निर्देशक ढुङ्गाना भन्छन्, ‘आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन्। यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ।’

नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा धेरै उत्पादन हुने गरेको छ। कोशी प्रदेशमा ७ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर ७ अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

नेपालमा उत्पादित अलैँचीमध्ये ९० प्रतिशत निर्यात हुने गरेको छ। नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ। विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्‍याउन सकिरहेको छैन।

-रासस

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ