+
Search

ताजा अपडेट +

पपुलर +

तीन वटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा, अप्ठ्यारोमा गभर्नर पौडेल

पालिका लाइभ
२०८३ बैशाख २४, बिहीबार

काठमाडौं- सरकारी स्वामित्वका तीन वटै बैंकका अध्यक्षहरूले एकैसाथ राजीनामा दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले बुधवार पदबाट राजीनामा दिएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल तथा नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका हुन्।

नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई हटाउने अभियान तीव्र बनाइरहेका बेला सरकारी बैंकका अध्यक्षहरू पनि दबाबमा परेका थिए। सरकारले हालै अध्यादेशमार्फत विभिन्न निकायमा नियुक्त भएका १५९४ जनालाई पदमुक्त गरे पनि सरकारी बैंकका पदाधिकारीहरू त्यसको दायरामा परेका थिएनन्। तर, सरकारको तर्फबाट ‘मार्ग प्रशस्त’ गर्न भनिएपछि उनीहरूले अन्ततः राजीनामा दिएको बताइएको छ।

तीन वटै सरकारी बैंकका अध्यक्षहरूको बहिर्गमनलाई सामान्य प्रशासनिक परिवर्तनभन्दा पनि राजनीतिक सन्देशका रूपमा हेरिएको छ। वित्तीय क्षेत्रका जानकारहरूका अनुसार यसले सरकारी बैंकहरूको आगामी नेतृत्व, नीति कार्यान्वयन र वित्तीय निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

यता नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर प्रा. डा. विश्वनाथ पौडेल पनि पछिल्लो घटनाक्रमका कारण दबाबमा परेका छन्। मन्त्रिपरिषद्को २०८२ जेठ ६ गते बसेको बैठकले पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।

महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि गभर्नर पद केही समय खाली रहेको थियो। त्यसपछि सरकारले पौडेललाई नयाँ गभर्नर नियुक्त गरेको हो। अहिले सरकारी बैंकहरूमा भएको नेतृत्व परिवर्तन र वित्तीय क्षेत्रभित्र बढ्दो राजनीतिक हस्तक्षेपको चर्चाबीच गभर्नर पौडेल पनि अप्ठ्यारो परिस्थितिमा परेको चर्चा हुन थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ