+
Search

ताजा अपडेट +

पपुलर +

सिरानचोकमा लालीगुराँस मेला, संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

पालिका लाइभ
२०८३ बैशाख २, बुधबार

गोरखा—स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै सिरानचोक गाउँपालिकाले प्रथम लालीगुराँस मेला आयोजना गरेको छ । चैत्र १६ गतेबाट सुरु भई नयाँ वर्ष वैशाख १ गतेसम्म सञ्चालन भएको मेलाले विभिन्न क्षेत्रको पहिचान गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ।

मेलाको समापन श्रीनाथमण्डली परिसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमसहित गरिएको थियो। मेलाभरि सञ्चालन गरिएका गतिविधिहरूले स्थानीय सहभागिता बढाउनुका साथै सिरानचोकको ऐतिहासिक र धार्मिक महत्वलाई पनि उजागर गरेका थिए।

मेलाको प्रमुख आकर्षणका रूपमा लालीगुराँस दौड प्रतियोगिता आयोजना गरिएको थियो। चित्रेपोखरीस्थित गाउँपालिका कार्यालयबाट सुरु भएको १० किलोमिटर दूरीको दौड सिरानचोककोटस्थित टुँडिखेलमा पुगेर टुंगिएको थियो। प्रतियोगितामा २५ भन्दा बढी स्थानीय तथा राष्ट्रियस्तरका धावकहरूको सहभागिता रहेको थियो।

63adLaligurans Fair in Siranchowk

दौड प्रतियोगितामा कपिलवस्तुका अजय पाण्डे क्षेत्रीले ३७ मिनेट १३ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। तनहुँको आँबुखैरेनी गाउँपालिकाका सनम गुरुङ ३७ मिनेट २९ सेकेन्डसहित दोस्रो र गोरखाको पालुङटार नगरपालिका–३ का सरोज गिरी ४० मिनेट ११ सेकेन्डसहित तेस्रो भए। विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

मेलाको अवसरमा अन्तर्राष्ट्रिय म्याराथन धावक टीका बहादुर बोगटीलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले जानकारी दिए।

यसैबीच, स्थानीय तथा रैथाने कृषि उपजको प्रदर्शनी तथा बिक्री वितरण कार्यक्रम पनि मेलाको महत्त्वपूर्ण आकर्षण बनेको थियो। चैत्र २६ देखि ३० गतेसम्म गाउँपालिका प्राङ्गण चित्रेपोखरीमा तथा नयाँ वर्षको दिन श्रीनाथमण्डली क्षेत्रमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका आठै वडाका कृषकहरूको सहभागिता रहेको थियो। प्रदर्शनीमा सहभागी १७ जना कृषक तथा उद्यमीहरूलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

लालीगुराँस पदयात्रा कार्यक्रमअन्तर्गत पाँच विभिन्न स्थानबाट श्रीनाथमण्डलीसम्म पुग्ने रुट निर्धारण गरिएको थियो। यस कार्यक्रममा सयौँ पदयात्रीहरूले सहभागिता जनाउँदै लालीगुराँससहित क्षेत्रका प्राकृतिक सम्पदाको अवलोकन गरेका थिए। साथै, मेलामा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, लालीगुराँस फोटो तथा भिडियो प्रतियोगिता लगायत विविध सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएका थिए।

4bce8Laligurans Fair in Siranchowk

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले मेलाले सिरानचोक क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी वर्षहरूमा यसलाई अझ व्यवस्थित र भव्य रूपमा आयोजना गरिने बताए। उनले स्थानीय संस्कृति, प्रकृति र कृषि उत्पादनको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले मेलाले स्थानीय स्तरमा आर्थिक तथा सामाजिक गतिविधि बढाउन सहयोग पुगेको बताउँदै आगामी दिनमा पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा थप ध्यान दिइने जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ