काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांस सूचकमा सुधार गर्दै स्थिर र सकारात्मक वित्तीय गतिलाई निरन्तरता दिएको छ।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले सञ्चालन दक्षता र गैरब्याज आम्दानीको सन्तुलनमार्फत नाफा वृद्धिलाई मजबुत बनाएको देखिन्छ। बैंकले पुस मसान्तसम्म ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ रहेको थियो।
नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६ पैसा पुगेको छ, जुन गत वर्षको तुलनामा १ रुपैयाँ ४ पैसाले बढी हो। यसले बैंकको आम्दानी क्षमता सुधारोन्मुख रहेको स्पष्ट संकेत गर्दछ।
यस अवधिमा खुद ब्याज आम्दानी सामान्य घटेको भए पनि फि, कमिशन तथा अन्य गैर–ब्याज आम्दानीमा भएको वृद्धिले समग्र आम्दानीलाई सन्तुलित बनाएको छ। बैंकको कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशतले बढेर १० अर्ब ८७ करोड ९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४ अर्ब २७ करोड ६३ लाख रुपैयाँ कायम भएको छ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ, जसले आगामी लाभांश क्षमतालाई पनि सकारात्मक बनाएको छ।
इम्पेयरमेन्ट चार्ज र खराब कर्जा अनुपातमा सामान्य दबाब देखिए पनि बैंकको समग्र जोखिम व्यवस्थापन अवस्था नियन्त्रणमै रहेको छ। खराब कर्जा अनुपात ४.९१ प्रतिशत पुगेको छ, तर पूँजी संरचना र नाफा क्षमताले त्यसको असर न्यून बनाएको देखिन्छ।
पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी सञ्चित छ। बैंकले सो अवधिसम्म ६ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ।
प्रतिक्रिया