+
Search

ताजा अपडेट +

पपुलर +

बूढीगण्डकी जलविद्युत आयोजना अगाडि बढाउन ढकालको आग्रह, भन्छन्- ‘लगानी गर्न निजी क्षेत्र तयार छ’

पालिका लाइभ
२०८२ माघ १५, बिहीबार

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै लगानीका लागि निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको बताएका छन्।

बिहीबार धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना अब ढिलाइ नगरी अघि बढाउनुपर्ने बताए।

उनले आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार रहेको उल्लेख गर्दै बूढीगण्डकी जलविद्युत आयोजना निर्माणले जलविद्युतसँगै खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायमा समेत लगानी विस्तार गर्न सहयोग पुग्ने बताए। हालसम्म आयोजनामा मुआब्जा वितरण बाहेक अन्य काम अघि बढ्न नसकेको पनि उनले उल्लेख गरे।

नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरूको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले आयोजनामा स्रोतको कमी भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको बताए।

‘नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ । जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने छ । आवश्यक परेमा हामी सहयोग गर्न तयार छौँ,’ उनले भने।

अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका खनिज, कृषि तथा अन्य सम्भावनायुक्त कुनै पनि उद्यम तथा व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत स्पष्ट पारे। निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समय, गुणस्तर र बजेटभित्र सम्पन्न गर्ने गरेको उनको दाबी थियो।

‘गत भदौको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी र क्षति भएको थियो । तर, अहिले ती सबै व्यवसायहरू मर्मत, सम्भार र पुनर्निर्माण गरी सञ्चालनमा ल्याइसकेका छौँ,’ उनले भने।

निजी क्षेत्रमाथि भएका धरपकड तथा व्यवसायमाथि गरिएका प्रहारले निजी क्षेत्र भयभीत भएको बताउँदै उनले गुनासो गरे।
‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजी क्षेत्र किन सधैँ उपेक्षित भएको छ,’ उनले भने।

उनले स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवहरूले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै महासंघले यस्ता कार्यक्रमहरूलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताए।

‘यस्ता मेला महोत्सवहरूले स्थानीय उत्पादन तथा सम्भावनाहरूलाई प्रवर्द्धन गर्न सहयोग पुग्छ । यसले स्थानीय स्तरमा आर्थिक गतिविधि विस्तार र रोजगारी सृजना गर्न सहयोग पुर्‍याउने भएकाले हामीले यस्ता मेला महोत्सवहरूलाई विशेष महत्वका साथ अगाडि बढाउँदै आएका छौँ,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ