काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको हो। महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा २ लाख ६४ हजार ९ सय २० रुपैयाँ निर्धारण गरेको छ।
यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। पहिलो पटक सुनको मूल्य प्रति औंस ५ हजार अमेरिकी डलर नाघेको छ। सन् २०२५ मा मात्र सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले बढिसकेको छ।
अमेरिका र नेटोबीच ग्रिनल्यान्डलाई लिएर बढेको तनावले विश्व बजारमा अनिश्चितता थपिएको छ। यसका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका हुन्। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले पनि बजार थप चर्किएको छ। उनले चीनसँग व्यापार सम्झौता भए क्यानडामाथि १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्।
अनिश्चितताका समयमा सुन र चाँदीलाई सुरक्षित लगानी मानिन्छ। यही कारण शुक्रबार चाँदीको मूल्य पनि पहिलो पटक प्रति औंस १०० डलर नाघेको छ। अघिल्लो वर्ष मात्र चाँदीको मूल्य झन्डै १५० प्रतिशतले बढेको थियो।
उच्च मुद्रास्फीति, कमजोर अमेरिकी डलर तथा विश्वभरका केन्द्रीय बैंकहरूको खरिदले पनि सुनको मूल्य बढाउन भूमिका खेलेको छ। अमेरिकी केन्द्रीय बैंकले ब्याजदर फेरि घटाउने अपेक्षाले सुनलाई थप बल दिएको विश्लेषकहरू बताउँछन्।
युक्रेन र गाजाका युद्ध, साथै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई वासिङ्टनले नियन्त्रणमा लिएको घटनाले पनि सुनको मूल्य वृद्धिमा असर पारेको छ।
विश्वभर अहिलेसम्म करिब २ लाख १६ हजार टन मात्र सुन उत्खनन भएको छ, जसको अधिकांश सन् १९५० पछि निकालिएको हो। अझै करिब ६४ हजार टन सुन जमिनमुनि रहेको अनुमान गरिएको छ।
गत वर्ष केन्द्रीय बैंकहरूले सयौँ टन सुन आफ्नो भण्डारणमा थपेका छन्, जसले अमेरिकी डलरबाट टाढा जाने संकेत दिएको छ। यद्यपि, मूल्य घट्ने जोखिम पनि रहेको विज्ञहरूले चेतावनी दिएका छन्।
यसैबीच, चाँदीको मूल्य पनि बढेको छ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।
प्रतिक्रिया