+
Search

ताजा अपडेट +

पपुलर +

‘चुनावले अर्थतन्त्र चलायमान बन्छ, उम्मेदवारहरूको खर्च १८० अर्ब पुग्नसक्छ’

पालिका लाइभ
२०८२ माघ ८, बिहीबार

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले देशको अर्थतन्त्रमा अल्पकालीन रूपमा ठुलो धनराशि प्रवाह गर्ने भएको छ । सुस्त रहेको बजारमा चुनावको बहानामा करिब १ खर्ब ८० अर्ब रुपैयाँ नगद प्रवाह (मनी फ्लो) हुने अर्थशास्त्रीहरूको विश्लेषण छ ।

अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीका अनुसार यो चुनावमा सरकारी तवरबाट र उम्मेदवारहरूबाट गरी कुल १८० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । सरकारले चुनाव सञ्चालन, सुरक्षा र व्यवस्थापनका लागि करिब ३० अर्ब रुपैयाँ खर्च गर्दैछ । २०४८ सालमा ८० करोडमा सम्पन्न हुने चुनावको खर्च अहिले ४० गुणाले बढेको छ । सरकारले गर्ने यो खर्च सुरक्षाकर्मीको भत्ता, सार्वजनिक खरिद र दैनिक व्यवस्थापनमार्फत अन्त्यमा बजारमै पुग्नेछ ।

सरकारी खर्चभन्दा उम्मेदवारहरूको खर्चको आँकडा निकै विशाल देखिन्छ । निर्वाचन आयोगले तोकेको सीमाअनुसार ३ हजार ४ सय ८७ उम्मेदवारको कुल खर्च १० अर्ब हाराहारी हुनुपर्ने हो । आयोगले एक उम्मेदवारलाई २५ देखि ३५ लाखसम्मको सीमा तोकेको छ ।

तर, नेपाली चुनावको वास्तविक प्रवृत्ति भने फरक छ । विगतको संघीय चुनावको ट्रेन्ड हेर्दा प्रत्यक्षतर्फका एकै उम्मेदवारले न्यूनतम २ करोडदेखि १० करोड रुपैयाँसम्म खर्च गर्ने गरेको पाइन्छ । औसतमा ६–७ करोड खर्च हुने अनुमान गर्दा उम्मेदवारहरूले मात्रै करिब १ खर्ब ५० अर्ब रुपैयाँ बजारमा पठाउने देखिन्छ ।

यो रकम बैंकमा थुप्रिएर बसेको निक्षेप, घरमा लुकाइएको पैसा र विदेशबाट आउने सहयोगमार्फत अर्थतन्त्रमा प्रवेश गर्नेछ । यसले बजारमा उपभोग बढाउनेछ । चुनावको समयमा मासु, रक्सी र इन्धनको खपत ह्वात्तै बढ्नेछ ।

विशेषगरी यातायात क्षेत्रमा ठुलो रकम खर्च हुनेछ । तराई क्षेत्रमा भारतबाट गाडी भाडामा ल्याउने चलनले केही रकम बिदेसिए पनि धेरैजसो पैसा कार्यकर्ता, भोटर र सेवा प्रदायकको हातमा पुग्नेछ । यसले केही समयका लागि आर्थिक गतिविधि बढाउनेछ ।

तर, चुनावी माहोलले विकास निर्माण र दीर्घकालीन लगानीलाई भने नराम्ररी प्रभावित बनाएको छ । चुनावी अनिश्चितताका कारण निजी क्षेत्रका लगानीकर्ता ‘पर्ख र हेर’ को नीतिमा छन् । उद्योगीहरूले कर्जा लिएका छैनन् भने नयाँ परियोजना ठप्प छन् । यसको प्रत्यक्ष असर सरकारी पुँजीगत खर्चमा देखिएको छ । गत वर्ष पुससम्म १७ प्रतिशत विकास बजेट खर्च भएकोमा यसपटक ११–१२ प्रतिशतमा खुम्चिएको छ ।

अहिले नै देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ प्रतिशत पुगिसकेको छ । चुनावपछि बन्ने सरकारलाई ऋणको भार थपिने निश्चित छ । निर्वाचनपछि बहुमतको स्थिर सरकार बने अर्थतन्त्रमा सुधार आउन सक्छ । तर, धेरै दल मिलेर बन्ने अस्थिर सरकार आएमा राज्यको ढुकुटी रित्याउने र आर्थिक अनुशासन भंग हुने जोखिम उच्च रहेको अर्थशास्त्री अधिकारीको तर्क छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ