काठमाडौं– एक पटक भ्रष्टाचारको मुद्दा खेपेर निलम्बनमा परेका सहसचिव वीरेन्द्रदेव भारती फेरि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा फर्किएका छन्। विशेष अदालतबाट सफाइ पाएपछि उनी दोस्रो पटक महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्न लागेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गर्ने निर्णय गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई गृह मन्त्रालयमा सरुवा गरेकाे थियाे। पौडेलको स्थानमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, बागमती प्रदेशमा कार्यरत सहसचिव भारतीलाई भरतपुरको अधिकृतमा खटाइएको हो।
भारती यसअघि पनि महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए। तर कार्यकालको एक महिनामै करिब १० वर्षअघि गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा प्राकृतिक स्रोत दोहन तथा राजस्व हिनामिनासम्बन्धी अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता भई उनी निलम्बनमा परेका थिए। उक्त मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनी पुनः सेवामा फर्कँदै बागमती प्रदेश नीति तथा योजना आयोगको सचिवको जिम्मेवारीमा कार्यरत थिए।
करिब १८ महिना अघि पौडेल भरतपुरको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए। अब उनको गृह मन्त्रालय सरुवासँगै भ्रष्टाचार मुद्दाबाट सफाइ पाइसकेका भारती पुनः भरतपुरको प्रशासनिक नेतृत्वमा फर्कन लागेका हुन्।
प्रशासनिक वृत्तमा भारतीलाई ‘शक्तिशाली सहसचिव’का रूपमा चिनिन्छ। अधिकांश सहसचिवहरूले महानगर वा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउन नसकिरहेका बेला भारतीले भने बुटवल उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, पोखरा महानगरपालिका, ललितपुर महानगरपालिका हुँदै पुनः भरतपुरको नेतृत्व गर्ने अवसर पाए।
सहसचिवमा पदोन्नति भएदेखि नै उनी निरन्तर उपमहानगर तथा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदै आएका छन्। स्रोतका अनुसार आगामी दिनमा उनलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइने सम्भावनासमेत देखिएको छ।
प्रतिक्रिया