+
Search

ताजा अपडेट +

पपुलर +

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खनाललाई

फाइल तस्बिर
पालिका लाइभ
२०८२ आश्विन ६, सोमबार

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी दिएकी छिन्। सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै केही मन्त्रीहरूको कार्यक्षेत्र फेरबदल भएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रालय घटाइएपछि अर्थमन्त्री खनाललाई सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो। यसअघि सो मन्त्रालय प्रधानमन्त्री कार्की आफैँले सम्हाल्दै आएकी थिइन् ।

गृहमन्त्री अर्यालले सम्हालिरहेको कानुन मन्त्रालय भने नवनियुक्त मन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश समेत रहेका सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण गरी तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसबीच अर्यालसहित चार मन्त्रीलाई भने एक–एक मन्त्रालय मात्र दिइएको छ। महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियारले कृषि तथा पशुपन्छी विकास र जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हाल्ने भएका छन्।

कुलमान घिसिङले यसअघि सम्हाल्दै आएका तीन मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालय यथावत राखिएका छन्।

प्रधानमन्त्री कार्कीले अझै परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैँले राखेकी छन्।

उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने योजना सुनाउँदै अझै तीन मन्त्री नियुक्त गर्न बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ