+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहलाई मन्त्रालयकाे सर्कुलर: आइतबारबाट सेवा सुचारु गर्नु

पालिका लाइभ
२०८२ भाद्र २८, शनिबार

काठमाडौं– आन्दोलनका कारण रोकिएका स्थानीय तहका सेवा आइतबारदेखि सुचारु हुने भएका छन्।

कर्फ्यू र निषेधाज्ञाले अवरुद्ध भएका दैनिक प्रशासनिक कार्य पुनः सञ्चालन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई शुक्रबार नै सर्कुलर पठाएको छ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार, क्षति पुगेका कार्यालयहरूलाई वैकल्पिक स्थानमार्फत सेवा निरन्तरता दिन भनिएको छ भने क्षति नभएका कार्यालयहरूले सहज रूपमा सेवा दिन सक्नेछन्।

सिंहदरबारभित्रका कार्यालयसमेत वैकल्पिक व्यवस्थापनमार्फत सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत सर्वसाधारणले पाउने नागरिकता, दर्ता, इजाजतपत्र, सामाजिक सुरक्षा भत्ता, सिफारिसलगायतका सेवाहरू आन्दोलनका कारण अवरुद्ध भएका थिए। सेवा स्थगित हुँदा नागरिकको दैनिक जीवनमा ठूलो असुविधा भएको जनाइएको छ।

शिक्षा मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव मधुप्रसाद घिमिरेका अनुसार विद्यालय पनि आइतबारदेखि खोल्ने तयारी भएको छ। ‘अधिकांश स्थानमा अवस्था सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू सञ्चालन हुनेछन्,’ उनले बताए। तर विद्यालय सञ्चालन सम्बन्धी अन्तिम निर्णय सम्बन्धित स्थानीय तहले स्थानीय परिस्थितिअनुसार गर्ने व्यवस्था मिलाइएको छ।

यद्यपि केही क्षेत्रमा क्षति वा असुरक्षा कायम रहेकाले विद्यालय सञ्चालन केही दिन ढिलो हुनसक्ने मन्त्रालयले जनाएको छ।

आन्दोलनका कारण रोकिएका सार्वजनिक सेवा र विद्यालय पुनः सञ्चालन हुने भएपछि जनजीवन बिस्तारै सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ