+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबारबाट हराएको गाडी मन्त्रीकै ‘कब्जा’मा

पालिका लाइभ
२०८२ असार २२, आईतवार

काठमाडौ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हराएको भनेर गृह मन्त्रालयमा चिठी लेखेको सरकारी गाडी दुई दिनमै मन्त्रालयमै फेला परेको छ ।

मन्त्रालय स्रोतका अनुसार उक्त गाडी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले निजी प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए ।

प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी हराएको भन्दै श्रम मन्त्रालयले गत असार १५ गते गृह मन्त्रालयमा औपचारिक पत्राचार गरेको थियो । ‘गाडी जहाँ जस्तो अवस्थामा छ, खोजतलास गरिदिनुहोस्,’ भन्दै लेखिएको पत्रमा प्रचलित कानुनअनुसार जिम्मेवार व्यक्तिहरूविरुद्ध कारबाही अघि बढाउन अनुरोध गरिएको थियो ।

तर चिठी पठाएको दुई दिनपछि नै सो गाडी मन्त्रालयमै आइपुगेको प्रवक्ता डण्डु घिमिरेले पुष्टि गरे । ‘गाडी कसले प्रयोग गर्‍यो भन्ने मलाई थाहा भएन, तर गाडी मन्त्रालयमै फिर्ता आएको हो,’ उनले भने ।

मन्त्रालयका एक उपसचिवका अनुसार सो गाडी श्रममन्त्री शरतसिंह भण्डारीले लोसपा अध्यक्ष ठाकुरलाई दिएका थिए । ‘गाडी अध्यक्ष ठाकुरकै निजी प्रयोजनमा प्रयोग भइरहेको थियो,’ ती उपसचिवले भने । उनका अनुसार केही समयदेखि गाडी अध्यक्षको परिवारको प्रयोगमा रहेको थियो ।

यता, लोसपाका महासचिव डा. सुरेन्द्र झाले भने अध्यक्ष ठाकुरले कहिलेकाहीं मात्रै उक्त गाडी प्रयोग गर्ने गरेको बताए । ‘हामीले एक महिनाअघि नै मन्त्रालयमा गाडी बुझाइसकेका थियौं,’ उनले भने ।

सचिवले गलत सूचना प्रवाहका आधारमा गृह मन्त्रालयमा चिठी लेखेको उनको दाबी छ ।

तर मन्त्रालयका अर्का एक अधिकारीका अनुसार गाडी गृहलाई चिठी लेखेपछि मात्रै मन्त्रालयमा ल्याइएको हो । उनले भने, ‘गाडी फिर्ता ल्याउने काम ठाकुरका सहयोगीहरूले गरेका थिए ।’

मन्त्रालय स्रोतका अनुसार गाडी हराएको प्रकरण र यसबारे गरिएको पत्राचारको पछाडि मन्त्री र सचिवबीचको पछिल्लो समय देखिएको मनमुटाव पनि एक कारण हुनसक्ने देखिएको छ ।

सचिव कृष्णहरि पुष्करले असार १४ गते प्रशासन महाशाखा प्रमुख निश्चलराज पाण्डेसँग गाडीबारे सोधपुछ गरेका थिए । त्यसपछि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ