+
Search

ताजा अपडेट +

पपुलर +

जीर्ण पुल बनाउन स्थानीय सरकार उदासिन, जोखिम मोलेर पुल तर्न बाध्य स्थानीय

पालिका लाइभ
२०८१ माघ २५, शुक्रबार

मुगु– सोरु गाउँपालिकाको कुलाहा स्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय बासीहरू जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरु लगायत दर्जनौँ भन्दा बढी गाउँका नागरिकलाई वारिपारि गर्न मुस्किल भएको छ ।

कुलाहास्थित मुगु कर्णाली नदीको जीर्ण झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ ।

खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताए । उनका अनुसार पुलमा बिछ्याइएका पाताहरू सबै उप्किएका छन् भने वरपरको तार जाली खियाले चुँडिएको छ ।

उनले भने, ‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ, एक जना भन्दा बढीले पुल तर्न सकिँदैन, हिँडाइको सन्तुलन नमिले कुन बेला नदीमा खसिने हो थाहै हुँदैन ।’

pul110

छेद विच्छेद भएको उक्त पुलमा पशु चौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उनले बताए । उनका अनुसार हिउँद लागे पनि कर्णाली नदीको बहाव नघटेकाले अहिले पनि नदी तर्न नसकिने बताए ।

स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गर्ने गरिन्छ । योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकमा खाता खोल्न र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए ।

pul22

उनका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छोड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनको गुनासो छ ।

‘दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भइसक्यो, सोरुकोट बजार जान पनि यो पुल तर्नुको विकल्प छैन,’ उनले भने, ‘पुल जीर्ण हुँदा स्थानीय उत्पादन पनि बजारसम्म पुर्‍याउन सकिएको छैन ।’

कुलाहा पुल धेरै पुरानो र जीर्ण भएको हुँदा बजेट छुट्टाएर जीर्ण पुल मर्मत गर्ने योजना भई रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

pul22

उनका अनुसार पालिकाभरि कति पुल जीर्ण भएका छन् र ती पुल मर्मत गर्न कति बजेट आवश्यक पर्छ भन्ने बारे तथ्यांक संकलन गरी जीर्ण पुलहरूको मर्मत तथा निमार्ण गर्नको लागि संघीय, प्रदेश सरकारसंग बजेटको लागि पहल गरिने समेत बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ