+
Search

ताजा अपडेट +

पपुलर +

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाउन नेपाल बैंकलाई गभर्नर अधिकारीकाे सुझाब

पालिका लाइभ
२०८१ मंसिर १, शनिबार

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गरेका छन्।

नेपाल बैंकको ८८औँ वार्षिकोत्सव समारोहमा उनले वित्तीय अनुशासन कायम गर्दै प्रतिस्पर्धात्मक बैंकिङ कारोबारमार्फत सेवालाई चुस्त र प्रभावकारी बनाउँदै जनताको विश्वास जित्न आग्रह गरेका हुन्।

गभर्नर अधिकारीले नेपाल बैंकले आफ्नो सेवा सुविधाहरूलाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल प्रविधिमैत्री बैंकिङलाई आत्मसात् गर्दै आर्थिक विकास तथा रोजगारी सृजनामा अझ सशक्त भूमिका खेल्न आग्रह गरे ।

उनले डिजिटल बैंकिङमा देखिएका चुनौतीलाई सामना गर्दै विश्वसनीय र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने दायित्वबाट कहिल्यै विमुख नहुन आग्रह गरे । ‘विगतमा कमजोर व्यवस्थापनका कारण समस्यामा परेका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई जोगाएर उल्लेखनीय प्रगति हासिल गर्ने बैंकको रूपमा स्थापित भएको छ । यो बैंक धेरै दुःख गरेर ‘रिकभर’ भएको बैंक हो । राज्य र नियामकले ठुलो लगानी र जोखिम मोलेर बाह्य ऋणसमेत लिएर बैंकको रिकभर गरेको हो । त्यसैले जुन किसिमका नीति नियमन, निर्देशिका बने त्यसको प्रभावकारी कार्यान्वयनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरे । फेरि ‘मिस म्यानेजमेन्ट’का कुरा सुनिन थालेका छन् । त्यस्तो अवस्था आउन नदिन म बोर्ड र उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउन चाहन्छु’, गभर्नर अधिकारीले भने ।

नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकले देशको कुना काप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पुर्‍याउनुका साथै बैंकिङमार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न बैंकको अग्रणी भूमिका खेलेकाे थियाे ।

बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले आगामी दिनमा सेवा प्रवाहलाई अझ बढी प्रतिस्पर्धी, प्रविधिमैत्री, सुरक्षित र विश्वसनीय बनाउँदै बैंकको संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित भई सहकारिता र साझेदारिताको अनुपम उदाहरण बनेको बताए । उनले नेपाल बैंकले राष्ट्रिय अर्थतन्त्रका सम्पूर्ण पक्षलाई मुलुकको विकास र समृद्धितर्फ दिशानिर्देश गर्न आवश्यक वित्तीय साधन उपलब्ध गराउने र नेपाली मुद्रा चलनचल्तीमा ल्याउने आधार तयार पार्न भूमिका खेलेको उल्लेख गरे । त्यस अवसरमा बैंकमा २५ वर्ष र २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक दिनाका साथै उत्कृष्ट १० शाखालाई सम्मान गरिएको थियो ।

नेपाल बैंक नेपालकै पहिलो वाणिज्य बैंकका रूपमा १९९४ कात्तिक ३० गते स्थापना भई मुलुकमा संस्थागत बैंकिङ सुरुआत गर्ने अग्रणी संस्था हो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा आठ लाख ४२ हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब छ । बैंकको जगेडा कोषमा २२ दशमलव ६९ अर्ब रहेको छ भने ३७ अर्ब बढी नेटवर्थ रहेको छ ।

हाल बैंकले दुई सय २९ शाखासँगै दुई सय पाँच वटा एटिएम, ६० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो उपस्थिति जनाएको छ । ०८० असार मसान्तसम्म दुई सय ८३ अर्ब निक्षेप संकलन गरी एक खर्ब ९७ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । तीन हजारभन्दा बढी कर्मचारी रहेको बैंकको २५ लाख हाराहारी ग्राहक रहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ