+
Search

ताजा अपडेट +

पपुलर +

योजनामा बार्गेनिङ गर्न होटलबाटै चल्छ ‘विष्णुपुर गाउँपालिका कार्यालय’

पालिका लाइभ
२०८० चैत्र १९, सोमबार

सिरहा- विष्णुपुर गाउँकार्यपालिकाको कार्यालय होटलबाटै सञ्चालन हुने गरेको पाइएकाे छ। कार्यालय विरलै जाने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले गोलबजारका होटलहरूबाटै कार्यालय चलाउँदै आएका हुन्।

अधिकृत सिंह कार्यालय नगई महत्त्वपूर्ण कागजात र चेकहरूसमेत बोकेर लेखाका कर्मचारीलाई गोलबजारको होटलहरुमा बोलाउने गरेको एक सेवाग्राहीले बताए।

उनले भने, ‘हामी प्रशासकीय अधिकृतलाई काम विशेषले कार्यालय पुग्दा कहिल्यै भेटिनु हुन्न। उहाँ कार्यालय बाहिरै बसेर काम गर्न रुचाउनु हुन्छ। कार्यालय किन आउनु हुन्न, हामीले जान्नै सकेका छैनौँ।’

यति मात्र हैन गाउँपालिकाका अध्यक्ष सत्य नारायण यादवसँग हुने छलफल र कागजात मिलान समेत होटलमा गरिने गरेको स्रोतले जनाएको छ।

पछिल्लो पटक गत शुक्रवार कार्यालयको समयमा पालिका अध्यक्ष यादव, आर्थिक शाखाका कर्मचारी र प्रशासकीय अधिकृतको गोप्य बैठक गोलबजारको एक होटलमा बसेको स्रोतको दाबी छ।

गाउँपालिकाको गत वर्षको १८ नम्बर फाइलको तीन करोड भन्दा बढी भुक्तानी दिनुपर्ने भए पनि प्रशासकीय अधिकृत सिंह कार्यालय नबस्दा काम हुन नसकेको वडाध्यक्षहरूको गुनासो छ।

वडा नम्बर ३ का वडाध्यक्ष जयकुमार यादवले वडाको पनि काम गरेको भुक्तानी लिन बाँकी रहेको बताए। उनले भने, ‘काम भएको ८/९ महिना बितिसक्यो, उपभोक्ताको त्यत्रो लगानी लागेको छ। अधिकृत कार्यालयमा नबस्दा उपभोक्ताको लगानी फसिरहेको छ।’

अर्का एक वडाध्यक्षले नाम नखोल्ने सर्तमा अध्यक्षले गराएको एउटा विवादित कामको भुक्तानीको विषयमा कुरा नमिल्दा अहिलेसम्म १८ नम्बरको भुक्तानीमा समस्या भएको बताए। उनले भने, ‘अध्यक्ष त्यसको भुक्तानी नभई अरूको हुँदैन भन्ने अडान लिएपछि सबैको भुक्तानी रोकिएको छ।’

Bishnupur RM sa

यहीँ भुक्तानीहरूको विषयमा आर्थिक बार्गेनिङ गर्न गाउँपालिका अध्यक्ष यादव र प्रशासकीय अधिकृत सिंहको विष्णुपुर बाहिरका होटलहरुमा गोप्य वार्ता हुने गरेको स्रोतले जनाएको छ।

पालिकाले लाखौँ रकम खर्चेर प्रशासकीय कार्यालय, अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यालय, बैठक तथा सभाकक्षहरू भाडामा लिएका छन्। सुविधा सम्पन्न कार्यालय, सवारी सुविधा हुँदाहुँदै प्रशासकीय अधिकृत सिंह कार्यालय भने विरलै जाने गरेको स्रोतको दाबी छ।

आर्थिक प्रशासन शाखाका सहायक कर्मचारी गंगा प्रसाद यादवले कहिलेकाहीँ विशेष अवस्थामा मात्र सर (यादव)ले बोलाएको ठाउँमा चेकसहितका फाइल लिएर जाने गरेको स्विकार गछन्। भन्छन्, ‘कहिले कहीँ विशेष अवस्थामा मात्र जाने गरेको हो। अर्को कुरा हामी कर्मचारीलाई हाकिमले बोलाएपछि त जानै पर्छ।’

गाउँपालिका उपाध्यक्ष गीता कुमारी सिंहले प्रशासकीय अधिकृत नियमित कार्यालय नआउने गुनासो आउने गरेको बताइन्। उनले भनिन्- ‘मसंगपनि सेवाग्राहीहरूले प्रशासकीय अधिकृतको विषयमा गुनासो गर्ने गरेका छन्। यस विषयमा एक पटक भेटको बेलामा कुरा गरेको थिएँ तर, उहाँले वास्ता गर्नु भएन। उहांसंगका यस्ता धेरै गुनाशा छन्।’

‘यस विषयमा फोन गरेर कुरा गर्ने प्रयास गरे पनि हाकिमकाे कहिल्यै फोन उठ्दैन, उनले भनिन्, ‘मैले फोनमा पनि कुरा गर्न खोजे, कहिल्यै फोन नै उठ्दैन।’

गाउँपालिका अध्यक्ष यादवले पालिकामा केही समस्याहरू रहेको भन्दै आज बस्ने कार्यपालिकाको बैठकबाट समाधान गर्ने बताए। उनले भने, ‘पालिकामा केही समस्या त छ। त्यसैको लागि हामी आज कार्यपालिका बस्दै छौँ। समाधानको प्रयास गर्दैछौं।’

यस विषयमा बुझ्न प्रशासकीय अधिकृत सिंहलाई पटक-पटक फोन गर्दा पनि उठेन र म्यासेज गर्दा पनि त्यसको कुनै प्रतिक्रिया आएन।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ