+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड र पालुङटारका मेयरबीच भेटघाट, बाढी नियन्त्रण र स्मार्ट सिटीका विषयमा छलफल

पालिका लाइभ
२०७९ असार २७, सोमबार

गोरखा– पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पालुङटार नगरपालिकाको समग्र विकासमा केन्द्रको तर्फबाट पहल गरिदिन ध्यानाकर्षण गराएका छन् ।

उपमेयर वन्दना पाण्डेसँगै प्रचण्डलाई भेट्न खुमलटार पुगेका मेयर चिन्तनले बर्षेनी बाढी र पहिरोबाट क्षति पुग्ने गरेको पालुङटारको दीर्घकालीन समस्या समाधानका लागि केन्द्रको तर्फबाट आवश्यक आग्रह गरेका हुन् ।

‘पालुङटारले बर्षेनी बिपतको सामना गरिरहनु परेको छ, नगरप्रमुख चिन्तनका स्वकीय सचिव अशोक मरहट्ठाले भने, ‘बाढीको नियन्त्रणका लागि त्यस क्षेत्रमा तटबन्ध निर्माणका गर्न केन्द्रको तर्फबाट अलि बढी बजेट छुटाउनका लागि पहल गरिदिने विषयमा छलफल भयो ।’

पालुङटारको खार खोला, चित्रे खोला, खहरे खोलामा आउने बाढीले हरेक वर्ष क्षति पुर्‍याउने गरेको छ ।

गएको आर्थिक वर्षदेखि नै त्यस क्षेत्रमा बाढी नियन्त्रणका लागि काम सुरु भइसकेको भए पनि पर्याप्त बजेटको अभावमा समस्या हुँदै आएको छ । आगामी आर्थिक वर्षका लागि ती क्षेत्रमा बाँध नियन्त्रणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै पालुङटारलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने चर्चा भए पनि काम सुरु हुनु नसकेको भन्दै प्रचण्डको ध्यानाकर्षण गराइएको उनले बताए ।

जिल्लाकै एक मात्र पालुङटार एयरपोर्टको मर्मत स्तरोन्नति तथा सञ्चालनका प्रक्रियालाई पनि संघिय सरकारले जोड दिनु पर्नेमा प्रचण्डको ध्यानाकर्षण गरिएको छ ।

भेटमा प्रचण्डले नगरपालिकाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको मरहट्ठाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ