+
Search

ताजा अपडेट +

पपुलर +

कार्यसम्पादन मूल्यांकनमा गोरखाका स्थानीय तह : पालुङटार पहिलो, अन्य तहले ६० अंक ल्याउन सकेनन्

लीलाधर काेइराला
२०७८ फाल्गुन २४, मंगलवार

गोरखा– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा गोरखाका ११ स्थानीय तहमध्ये सबैभन्दा धेरै अंक पालुङटार नगरपालिकाले प्राप्त गरेको छ ।

आयोगले वित्तीय समानीकरणको अनुदान सिफारिसका लागि गरेको कार्यसम्पादन मुल्याङ्कनमा पालुङटारले ६८ दशमलव १५ प्रतिशत अंक र सहिद लखन गाउँपालिकाले ६३ दशमलव ४६ अंक ल्याएर दोस्रो स्थान प्राप्त गरेको छ ।

बाँकी रहेका नाैं स्थानीय तहले भने ६० प्रतिशत कटाउन सकेका छैनन् । आरुघाट गाउँपालिकाले ५९ दशमलव ५१ प्रतिशत अंक प्राप्त गरेर र तेस्रो स्थानमा आएको छ । सिरानचोक गाउँपालिकाले ५८ दशमलव ५६, गण्डकी गाउँपालिकाले ५५ दशमलव ९१, गोरखा नगरपालिकाले ५८ दशमलव ६२ र अजिरकोटले ५६ दशमलव १५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

वारपाक सुलिकोट गाउँपालिकाले ५५ दशमलव ८२, चुमनुब्री गाउँपालिकाले ४६ दशमलव ४३, भीमसेन थापा गाउँपालिकाले ४६ दशमलव ४० र सबैभन्दा कम धार्चे गाउँपालिकाले ४४ दशमलव ९७ प्रतिशत अंक प्राप्त गरेको आयोगले जनाएको छ ।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या, खोप लगाएका बालबालिकाको सङ्ख्या लगायत १७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो।

यही मूल्यांकनका आधारमा आयोगले आगामी आर्थिक वर्षका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्नेछ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव एवम् सूचना अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो ।

सम्बन्धित पालिकाले प्राप्त अंक र तथ्याङ्कमा परिमार्जन हुनुपर्ने ठोस प्रमाण भएमा आगामी २५ गतेभित्र पुनरावलोकनका लागि निवेदन दिन सक्ने उनको भनाई छ । ‘पालिकाले पेस गरेको निवेदन र प्रमाणहरूका आधारमा हामी पुनरावलोकन गर्नेछौँ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला