काठमाडौं- काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ।
सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका छन्।
तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ।
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौँ उच्च जोखिममा पर्दै गएको बताए।
उनका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको हो।
वायु सेवाका कर्मचारीलाई कोरोना
नेपाल वायुसेवा निगमका सात जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ। निगमका सात जना कर्मचारीको परीक्षण पोजेटिभ आएको बताउँदै डा. पाण्डेले निगमका कर्मचारीसँगै उपत्यकास्थित अस्पतालका स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको उल्लेख गरे।
कुन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
प्रतिक्रिया