गोरखा– पालुङटार नगरपालिका वडा नं. ७ धुवाँकोट स्थित अकला माध्यमिक विद्यालयमा निजी विद्यालयमा पठनपाठन गराइने पाठ्यपुस्तक विक्री वितरण भइरहेको छ ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगाईका अनुसार विद्यालय व्यवस्थापन समितिले किताब बेच्न अनुमति प्रदान गरेकाले विद्यार्थीहरूलाई विशेष छुट सहित किताब विक्री गरिएको हो ।
सामुदायिक विद्यालयमा नेपाल सरकारले लागु गरेको पाठ्यक्रम अनुसार जनक शिक्षा केन्द्रले छापेको किताब पठनपाठन गराउनुपर्दछ । यसका लागि राज्यले अनुदान समेत दिने गरेको छ ।
अकला मावि धुवाँकोट गोरखामा भने विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन सहितको मिलेमतोमा अत्यधिक नाफा कमाउने उद्देश्यका साथ किताब विक्री वितरण भइरहेको हो ।
यसबारेमा वडा कार्यालय र पालुङटार नगरपालिकाको शिक्षा शाखाले मौन समर्थन गरेका छन् । विद्यालयमा व्यापार गर्न सरकारले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
निजी शिक्षकहरूलाई तलब भत्ता दिनका लागि केही रकम संकलन हुने आशयका साथ विद्यालयमा निजी कम्पनीबाट प्रकाशित पुस्तकहरू विक्री गरिएको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए ।
विद्यालयको आयस्रोत वृद्धिका लागि विद्यालय हाताभित्र चाउचाउ, कुरकुरे, चटपटे पसल समेत राख्न सकिने उनको भनाई छ । कतिपयले लकडाउनका समयमा विद्यार्थीको हितका लागि विद्यालयबाट निजी स्तरका पाठ्यपुस्तक वितरण गरिएको बताएका छन् ।
पुस्तक कारोबारका लागि नेपाल सरकारको प्रचलित नियम अनुसार खुलेका पुस्तक पसल भए पनि अकला माविले आफै व्यापारमा अग्रसर भएको हो ।
आगामी दिनमा पालुङटार लगायतका क्षेत्रबाट आएका सबै प्रकाशनका किताबहरू विद्यालयबाट विक्री वितरण गरिने एक शिक्षकले बताए ।
जिल्लामै अग्रणी स्थानमा रहँदै आएको उक्त विद्यालयमा पछिल्लो समय माया प्रेम लाउने र व्यापार गर्ने थलोको रूपमा तीव्र गतिमा विकास भइरहेकोले सचेत विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरू समुदायहरू निराश बन्दै गएका छन् ।
प्रतिक्रिया