+
Search

ताजा अपडेट +

पपुलर +

श्रममन्त्रीलाई इराकबाट खुल्ला पत्र ‘३० हजार श्रमिकको रोजगारी ग्यारेन्टी गरियोस्’

पालिका लाइभ
२०७५ पुष २४, मंगलवार

काठमाडाैं- नेपाल सरकारका श्रममन्त्री गोकर्ण विष्टलाई वैदेशिक रोजगारीका सिलसिलामा इराकमा रहेका एक नेपाली युवाले खुला पत्र लेखेका छन्।

वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्यको खोजी गरिरहेको सरकारले इराकमा रहेका नेपाली श्रमिकका लागि पनि रोजगारीको वातावरण बनाउनुपर्ने माग गर्दै उनले पत्र लेखेका हुन्। इराकमा करिब ४५ देखि ५० हजार नेपाली कार्यरत रहेको दाबी गर्दै उनले नेपाल सरकार र इराक सरकारबीच जीटुजी (सरकार–सरकारबीचको सम्झौता) गरी त्यहाँ कार्यरत नेपालीको रोजगारी सुनिश्चित गर्न आग्रह गरेका छन्।

पाण्डेले इराकमा कार्यरत नेपाली श्रमिकको अवस्था बुझ्न तथा सम्बन्धित कम्पनीमा पुगेर अनुगमन गर्नसमेत सरकारसँग आग्रह गरेका छन्।

यस्तो छ श्रममन्त्रीलाई लेखेको पत्र :

नमस्ते माननीय श्रममन्त्री गोकर्ण विष्टज्यू,

अहिले म जीसीसी कम्पनीको क्याम्प म्यानेजरका रूपमा रुमैला तेल उत्खनन क्षेत्रमा कार्यरत छु। यो क्षेत्र इराकको बसरामा पर्दछ। म जस्तै धेरै नेपाली यहाँ विभिन्न कम्पनीमा कार्यरत छन्। हाल इराकमा करिब ४५ देखि ५० हजार नेपाली कार्यरत रहेको मेरो जानकारी छ।

यहाँ युरोप, अमेरिका, अफ्रिका तथा सार्क राष्ट्रलगायत विभिन्न देशका नागरिक काम गरिरहेका छन्। कतिपय देशका नागरिक खुला रूपमा आवतजावतसमेत गरिरहेका छन्। यस्तो अवस्थामा नेपाली मात्र असुरक्षित छन् भन्ने तर्क गर्नु उचित नहुन सक्छ।

यदि नेपाल सरकारलाई इराकमा सुरक्षा जोखिम छ भन्ने लाग्छ भने आफ्नै तरिकाले अनुसन्धान गरी वास्तविक अवस्था बुझेर सुरक्षित वातावरण निर्माण गरिदिनुपर्छ। पहिलेकै अवस्थालाई आधार बनाएर ‘खतरा छ’ भन्दै नेपालीको रोजगारी गुम्ने अवस्था सिर्जना गर्नु हुँदैन।

म नेपाल सरकारलाई मेरो कम्पनीमा आएर वस्तुस्थिति बुझिदिन तथा आवश्यक अनुगमन गरिदिन विनम्र अनुरोध गर्दछु।

हो, विगतमा विषम परिस्थितिका कारण धेरै मानिसले ज्यान गुमाएका थिए। त्यो तीतो यथार्थ हो। तर त्यतिबेलाको अवस्था र अहिलेको अवस्था फरक छ। अहिले पनि त्यस्तै खतरा छ भनेर समग्र इराकलाई हेर्नु उचित हुँदैन।

यहाँ हाम्रा छिमेकी देशहरू तथा भारतको समेत दूतावास छ, जहाँबाट ती देशका नागरिकले आवश्यक सेवा–सुविधा लिएर काम गरिरहेका छन्।

नेपाल सरकारले नागरिकलाई सुरक्षित र कानुनी बाटोबाट रोजगारीमा जान सक्ने वातावरण नबनाउँदा समस्या झन् बढिरहेको छ। भएको रोजगारी छोड्नुपर्ने र बेरोजगार भएर बस्नुपर्ने अवस्था सिर्जना भइरहेको छ।

जसको भिसा छ, कम्पनीको स्पोन्सर छ र सम्झौता पत्र छ, त्यस्ता श्रमिकलाई नेपाल सरकारले श्रम स्वीकृति दिएर पठाउने हो भने राज्यले राजस्व पनि प्राप्त गर्छ र रोजगारी पनि सुरक्षित हुन्छ।

इराकमा उपलब्ध अधिकांश रोजगारी बहुराष्ट्रिय कम्पनीहरूसँग सम्बन्धित छन्। ती कम्पनीमा कामदारको सुरक्षा तथा अन्य विषयमा स्पष्ट व्यवस्था गरिएको हुन्छ। प्रत्येक कम्पनीको आफ्नै सुरक्षा नीति हुन्छ र कार्यरत सबै कामदारले त्यसको अक्षरशः पालना गर्नुपर्छ। नियम पालना नगरे रोजगारसमेत गुम्न सक्छ। साथै, इराकको सरकारी निकायबाट पनि नियमित अनुगमन तथा परीक्षण हुने गरेको छ।

म रोजगारीकै लागि फेरि–फेरि इराक आउँदै छु। यदि यहाँ राम्रो रोजगारी र सुरक्षित वातावरण थिएन भने किन आउँथेँ र? सबैलाई आफ्नै देश प्यारो हुन्छ। सबैको चाहना आफ्नै परिवारसँग बसेर जीवन बिताउने हुन्छ। तर ती चाहनाबीच केही प्राप्त गर्न त्याग गर्नुपर्ने अवस्था पनि आउँछ।

त्यसैले सुरक्षित रोजगारीको पहिचान र मूल्यांकन गरियोस्। त्यसैअनुसार इराकमा कार्यरत नेपालीको रोजगारी नगुमोस् भन्ने नै हामी यहाँ रोजगारीमा रहेका नेपालीको चाहना हो।

अब कुरा आयो नेपालभित्रको रोजगारीको। हामी यहाँबाट फर्कने हो भने के सरकारले रोजगारी दिन्छ? हाम्रो लालाबाला तथा आमाबुबालाई पाल्न पुग्ने तलब दिन्छ?

पहिला नेपालमा बेरोजगारीको समस्या समाधान गरौँ। रोजगारी सिर्जना गरौँ। त्यसपछि हामीलाई विमानस्थलमा रोक्नै पर्दैन, हामी आफैँ सरकारको जयजयकार गर्दै आफ्नै गाउँघरमा परिवारसँग बस्न तयार छौँ।

दलालहरूलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा हामी पनि सहमत छौँ। तर हामी दलाल होइनौँ, रोजगारीका लागि विदेश जाने श्रमिक हौँ। हामीलाई आफ्नै देशको सहयोगको आवश्यकता छ।

हालसालै पनि धेरै नेपालीको आकर्षक रोजगारी गुमेको छ। इराकमा काम गर्न नेपाली श्रमिक जान नपाएपछि उनीहरूको सट्टामा भारत, श्रीलंका, पाकिस्तान, भुटान, बंगलादेशलगायत अन्य तेस्रो मुलुकबाट श्रमिक छनोट गर्ने प्रक्रिया धेरै कम्पनीले अघि बढाएका छन्।

के यी देशका नागरिकको सुरक्षाको चिन्ता सम्बन्धित देशलाई छैन?

यहाँ नेपालीलाई राम्रो काम गर्ने र विश्वासिलो श्रमिकका रूपमा हेरिन्छ।

अब घरेलु कामदारका रूपमा विदेश जाने नेपाली चेलीहरूको विषयमा पनि कुरा गर्न आवश्यक छ। कुनै पनि देशमा पहिलोपटक घरेलु कामदारका रूपमा जाँदा सबैजना पूर्ण रूपमा सुरक्षित हुन्छन् भन्ने हुँदैन। विभिन्न कारणले उनीहरूले समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ। भाषाको समस्या पनि प्रमुख कारणमध्ये एक हो।

यसको अर्थ सबै घरेलु कामदारमाथि गम्भीर घटना नै हुन्छ भन्ने होइन। तर भाषालगायत अन्य कारणले उनीहरूले विभिन्न किसिमका कठिनाइ भोग्नुपर्ने अवस्था रहन्छ।

बारम्बार घरेलु कामदारका रूपमा विभिन्न देशमा गएर पुनः जान चाहने तथा अनुभव हासिल गरिसकेका नेपाली महिलालाई सरकारले आवश्यक प्रक्रिया पूरा गराएर जान दिनुपर्छ। किनकि उनीहरूलाई भाषा र कामको राम्रो अनुभव हुन्छ, जसले गर्दा तुलनात्मक रूपमा सुरक्षित रूपमा काम गर्न सहज हुन्छ।

कम्पनीमा काम गर्ने नेपाली महिला श्रमिकको अवस्था भने फरक हुन सक्छ। त्यहाँ कम्पनीका नियम–कानुनको पालना गर्नुपर्ने हुन्छ। आवश्यक परे दोभाषे तथा अंग्रेजी भाषाको प्रयोग गर्ने अवसर पनि हुन्छ।

इराकमा अहिले साधारण कामदारदेखि कार्यालय प्रमुख तहसम्म नेपालीले रोजगारी पाइरहेका छन्। धेरैको तलब तथा सुविधा पनि राम्रो छ। तर नेपालकै नीतिका कारण कतिपय नेपाली ४–५ वर्ष काम गरेर नेपाल फर्किएपछि पुनः रोजगारीका लागि दलाल खोज्दै विमानस्थलबाट जानुपर्ने बाध्यता छ।

यदि इराकमा कार्यरत र वैध भिसा भएका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने व्यवस्था गर्ने हो भने उनीहरू कम्तीमा प्रत्येक वर्ष नेपाल आउन–जान सक्ने थिए।

बरु सरकारले स्पष्ट नीति तथा नियम बनाउनुपर्छ। ‘यी प्रक्रिया पूरा गर’ भनेर मापदण्ड तोकिदिने हो भने कामदार आवश्यक पर्ने कम्पनीले ती प्रक्रिया पूरा गर्छन् र कामदारलाई पनि कानुनी तथा सुरक्षित बाटोबाट रोजगारीमा जान सहज हुन्छ।

कम्तीमा नेपाली श्रमिकले अहिले भोगिरहेको पीडा त कम हुने थियो। यसबाट धेरै नेपालीको आशीर्वाद पाउनुहुनेछ।

कृपया यस समस्याको समाधानका लागि तदारुकता देखाइदिनुहुन्छ भन्ने आशा गर्दछु।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ