+
Search

ताजा अपडेट +

पपुलर +

को हुन् ‘महान् सहिद’ सुरेश वाग्ले

पालिका लाइभ
२०७२ भाद्र २३, बुधबार

जनयुद्धको क्रममा उच्च शहादत प्राप्त  नेपाल कम्युनिस्ट पार्टी माओवादीका तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्लेको जन्म गोरखाको आँपपिपल गा.वि.स-५ स्थित रातडाँडामा वि.सं. २०१० साल भाद्र २४ गते बुधवार स्वर्गीय पिता भोजराज वाग्लेका ज्येष्ठ सुपुत्रका रूपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखवाट भएको थियो ।

गरिब किसान परिवारमा जन्मिएका सुरेश बाल्यावस्थामा भौतिक रूपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका थिए ।

६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर गोरखाकै बक्राङ गएका वासुले त्यही मामा घरमै बसेर साइँला हजुरबा गणेशप्रसाद अर्यालसँग कक्षा ७ बराबरको औपचारिक शिक्षारम्भ हासिल गरेका गरे ।

पछि वि. सं. २०२४ सालमा काठमाडौंमा आएर रानीपोखरी स्थित भानु माविबाट कक्षा ८ मा मध्यमा द्धितिय श्रेणीमा उत्तीर्ण गरे ।

को हुन् सुरेश वाग्ले

रानीपोखरी संस्कृत छात्रवासमा बसेर वि. सं. २०२८ सालमा वाल्मीकि क्याम्पसबाट उत्तर मध्यमा र वि. सं. २०३० सालमा शास्त्रीसम्मको अध्ययन पनि नियमित रूपमा पूरा गरे ।

त्यसै क्रममा वि. सं. २०२७ सालबाटै उनी नेपाल र नेपालीको मुक्तिको लागि र देशीय सामन्तवादी, संशोधनवादी पूजिवादी शासकहरू, स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप गर्ने भारतीय विस्तारवादी शासक वर्ग र अमेरिकी साम्राज्यवादका विरुद्ध लड्ने एक मात्र ‘क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी’ प्रति आकर्षित भए ।

उनले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, कम्युनिस्ट घोषणा पत्र, मार्क्सवादी शिक्षा र लेनिनका क्रान्तिकारी ग्रन्थहरूको अध्ययन गर्नुका साथै माओका संकलित रचनाहरूको समेत अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा दौडाइ सकेका थिए ।

सृजनशील क्षमता र सही विश्लेषण गर्न सक्ने तागत भएका वाग्ले विद्यार्थी अवस्था देखि क्रान्तिकारी संगठन (गण्डकी विद्यार्थी परिषद्)मा आबद्ध भई त्यसको सचिव भए ।

याे पनि,

आज सुरेश वाग्ले स्मृति दिवस : को हुन् वाग्ले ?

उनले त्यस बेला गण्डकी विद्यार्थी संगठनको मुख पत्र ‘लालुपाते’मा म्याक्सिम गोर्कीको बारेमा विश्लेषणात्मक लेख  प्रकाशित भएको थियो ।

वि. सं. ०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर वि. सं. ०३२ मा आफ्नै गाउँ आँपपीपलको जनता माविमा शिक्षण पेसामा आबद्ध भएताका वाग्ले तत्कालीन नेकपा. मसालमा आबद्ध भई सकेका थिए ।

उनी नै आँपपिपल क्षेत्रमा कम्युनिष्टहरुको बीजारोपण गर्ने पहिलो व्यक्ति हुन् । वि. सं. ०३४ सालमा नेकपा चौमको पार्टी सदस्यता लिएका वाग्ले तत्कालीन शिक्षकहरूको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन तदर्थ समिति गोरखाको सचिव भएका वाग्ले गोरखामा क्रान्तिकारी शिक्षकको नेता बने ।

वि. सं. २०३५/३६ साल तिर गोरखाको हंसपुर गाविसको ज्ञान ज्योति माविमा सरुवा भएका वाग्लेसँग त्यहाँ टुक नाथ अधिकारी, तुलसी खनाल, विन्देश्री यादव, ऋषि अधिकारी आदि कार्यरत थिए ।

दिउँसो उनीहरू विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडी बढाउँदै बिहान र बेलुका स्थानीय जनताहरूलाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउँदै गरिब र निमुखाको राज्य ल्याउने मार्क्सवादी शिक्षाले प्रशिक्षित र संगठीत गर्दै लान्थे ।

उनीहरूका यस्ता क्रान्तिकारी गतिविधिहरूलाई पञ्चायतका भरौटेहरूले देखि सहेनन् । अनेक बहाना बनाएर यी संगठित शिक्षकहरूलाई पञ्चका भरौटेबाट षड्यन्त्रमूलक ढंगले तितरबितर बनाइयो ।

वाग्ले पुनः जनता मावि. आँपपीपलमै सरुवा भए ।त्यसपछि विद्यार्थीका कलिला दिमागमा ज्ञानको ज्योतिको सट्टा दमन, पक्षपात, पिडा र यातना दिइयो ।

कांग्रेसको भर्ती केन्द्र बनेर विरोधी (अखिल) विद्यार्थीहरूलाई झुट्टा आरोप लगाउने, यातना दिने, २-३ वर्ष नियोजित ढंगले फेल गरिदिने गुन्डा लगाएर पिटाउने, खेद्ने जस्ता अत्यन्तै बर्बर दमन गरियो ।

पिडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरूले आफ्नो अध्ययनलाई अगाडी बढाए । धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरू त्राहीत्राहीमा पढ्न विवश भए ।

वि. सं. ०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा वाग्ले निर्वाचित भए ।

त्यसपछि उनी संगठन गोरखाबाट केन्द्रीय प्रतिनिधि बने । संगठनको प्रत्येक बैठकमा वाग्ले पार्टीको लाइन लिएर जान्थे र प्रस्तावित त्यो लाइनको सही विश्लेषण गरी बैठकमा पास गराउने अग्रिम रोल खेल्थे ।

यसरी गोरखाका क्षेत्रमा कम्युनिस्टको नेतृत्व गरेकै कारणले तत्कालीन पञ्चे सरकारले वाग्लेलाई अस्थायी शिक्षकको रूपमा रहन बाध्य पारिरह्यो । स्थायी हुनै दिएन ।

आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उनले शिक्षक संगठन र कम्युनिस्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्ने, पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रूपमा लिन्थे ।

वि. सं. ०४१ सालमा गोरखा जिल्लाका तत्कालीन पञ्चेका दूतहरूले उनलाई ‘संगठनबाट राजीनामा दिए मावि. स्थायी शिक्षक बनाईदिन्छौं, बरु स्थायी भएपछि तपाई पुनः संगठनको जिम्मेवार सदस्य भए पनि त्यसमा हामीलाई कुनै मतलब छैन र तपाईँले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौँ’ भन्दा पनि वाग्ले संगठनमा रहेर अस्थायी नै बस्नु परे पनि ठिक छ । म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिँदैन भनी पञ्चेका दूतहरूको प्रस्तावलाई सिधै अस्वीकार गरे ।

कठोर साधना र तपस्यापछि विसं. ०४६ र ४७ को आन्दोलन पछि उनी स्थायी शिक्षक भए । १७ वर्षसम्म शिक्षण पेसामा अविच्छिन्न सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरूले त्यस बेला सम्म स्थायी हुन दिएका थिएनन् । उल्टै उनले ‘उग्रवादी’ को विल्ला भिर्नुपरेको थियो ।

उग्र वादी आरोपकै कारण विसं. ०३६ सालमा प्रहरी खोरमा परेका कारण उनी स्थायी हुन पाएनन् ।

विसं. ०४७ सालको प्रतिनिधि सभाको चुनावमा एकता केन्द्र मसालले चुनाव उपयोग गर्ने उद्देश्यले डा. बाबुराम भट्टराईको संयोजकत्वमा बनाएको पार्टीको वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको तर्फबाट उनलाई गोरखा क्षेत्र नं.­२ को उम्मेदवारमा छनौट गर्‍यो ।

चुनावी कलाको अभावमा उनी उक्त चुनावमा १३ हजार ६७८ मत ल्याई झिनोतमले तत्कालीन नेपाली काँग्रेसकी उम्मेदवार मैयाँदेवी श्रेष्ठबाट पराजित भए ।

चुनावमा पराजित भएपछि उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मशालको पूर्ण कालिन कार्यकर्ता बने। त्यसै वर्ष उनी जिल्ला पार्टी सचिवमा चुनिए। विसं. ०४८ सालबाट ०५२ सालसम्म वाग्ले नेकपा माओवादी गोरखाको जिल्लाको नेतृत्व तहमा थिए ।

मार्क्सवाद, लेनिनवाद र माओवाद प्रति पूर्ण आस्था विश्वास गर्दै यसलाई नै आफ्नो पथप्रदर्शक सिद्धान्तको रूपमा मान्दै नेकपा माओवादीको कार्यदिशा अनुकूल नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको ध्येय र उद्देश्य हासिल गर्नको लागि आफ्नो महान् जिम्मेवारी पूरा गर्न उनी ०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले थालेको सशस्त्र जनयुद्धमा लागि सोही दिनबाट भूमिगत भए ।

गोरखा, रोल्पा, सिन्धुली, रामेछापलगायतका जिल्लाबाट सुरु भएको जनयुद्धको झिल्कोलाई देशव्यापी विस्तार गर्दै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने, नेपालको इतिहासमा पुरानो निरङ्कुश सामन्ती राजतन्त्रात्मक राज्यसत्ता ध्वंस गर्दै नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्ने, क्रान्तिलाई नेपाली भूमिमा विकास गर्ने योजनाकारहरू मध्ये महान योजनाकार भएकोले उनलाई त्यसै क्षमताको कारणले नै ०५५ मा नेकपा माओवादीले पोलिटब्युरो वैकल्पिक सदस्य बनाएको थियो ।

यसरी मारिएका थिए

विसं. ०५६ भदौमा पार्टीको सिसिको पूर्ण बैठक पछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमान्डर भीमसेन पोखरेल र एक महिला प्लाटुन सदस्य बिनासँग गोरखा जाने क्रममा भाद्र २३ गते छोप्राकमा नेपाल प्रहरीको स्पेसल कमाण्डो फोर्ससँग जम्काभेट भयो ।

त्यसपछि घेरा तोड्न खोज्दा उनीसँगै रहेका प्लाटुन कमान्डर पोखरेलको गोली लागेर मृत्यु भयो । प्लाटुन सदस्य बिना घाइते भए पनि भाग्न सफल भइन् ।

वाग्ले उपल्लो गाँखुमा प्रहरीको कब्जामा परे । पक्राउ परेपछि उनलाई आत्मसमर्पण गर्न र आफ्नो परिचय खुलाउन भनिएको थियो तर नमानेपछि वाग्लेलाई पनि त्यही गोली हानी प्रहरीले हत्या गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ