+
Search

ताजा अपडेट +

पपुलर +

उमेर पुगी विवाह गर्नेलाई गाउँपालिकाले दिन थाल्यो विवाह स्थलमै पुगेर बधाइ पत्र

पालिका लाइभ
२०८१ मंसिर ९, आईतवार

जुम्ला– पातारासी गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई विवाहस्थलमै पुगेर बधाइ पत्र दिन थालेको छ । नगरपालिकाको यस्तो सचेतनामुलक अभियानले गाउँपालिकामा पछिल्लो समयमा बालविवाह न्यूनिकरण हुँदै गएको छ ।

गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा बालविवाह न्यूनिकरण अभियान सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले बालविवाहसम्बन्धी कानुनी सचेतीकरणदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीका अनुसार हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, र्याली अभियान अन्तरक्रिया सडक नाटक प्रदर्शन, बस्ती बस्ती, मावि स्तरका विद्यालय, समुदायमा जाने, सचेतना कार्यक्रम गर्ने लगायतका काम निरन्तर भइरहेका छन् ।

बाल विवाह न्युनिकरणका कार्यक्रममा अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया लगायत सबै जनप्रतिनिधिले सहयोग गर्ने गरेको महिला बालबालिका शाखा प्रमुख गिरीले बताइन् । सोही योजनाअनुरुप वडा नं. ७ रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का)लाई विवाह स्थलमै पुगेर यस वर्ष पहिलो बधाइपत्र प्रदान गरिएको उनले बताइन् ।

यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको हो । बधाईपत्रमा वडाध्यक्ष, वडा सचिव र महिला तथा बालबालिका शाखा प्रमुखको हस्ताक्षर छ ।

पातारासीको वडा नम्बर ५ बालविवाहमुक्त वडा घोषणा भइसकेको छ भने अन्य वडाहरूलाई पनि अभियानमा सहभागी गराउन योजना अघि बढाइएको गिरीले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ