+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले एक महिनामै उठायो ६५ करोड ४२ लाख राजस्व

पालिका लाइभ
२०८० भाद्र ८, शुक्रबार

काठमाडौं– चालू आर्थिक वर्षको साउनमा काठमाडौं महानगरपालिकाले ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो ।

गएको वर्षभन्दा यस वर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको हो ।

आव २०७७/०७८ देखि राजस्व संकलनको क्रमशः बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपैयाँ संकलन भएको थियो ।पहिलो वर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपैयाँ धेरै हो ।

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना १ करोड ५६ लाख ४५ हजार ३६५ रुपैयाँ धेरै राजस्व संकलन भयो । पछिल्लो ४ वर्षमध्ये सबैभन्दा धेरै यही वर्ष संकलन भएको हो ।

यस वर्ष सम्पत्ति, बहाल तथा पट्टावापतको आयमा लाग्ने कर, साना सवारीसाधन कर, बाँटफाँट भइ प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँटफाँटबाट प्राप्त हुने विज्ञापन कर संकलन भएको छैन । यस्तै वित्तीय निकायबाट प्राप्त हुने व्याज रकम प्राप्त भएको छैन । प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २२८ रुपैयाँ प्राप्त भएको छ ।

यसपछि ठूलो रकम प्राप्त हुने शीर्षक सम्पत्ति कर हो । यसमा १२ करोड ५८ लाख ४८ हजार ७७३ रुपैयाँ प्राप्त भएको छ । अन्य राजस्व शीर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ शुल्क, सिफारिस दस्तुरलगायत छन् ।

यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, धरौटी सदरस्याहा, बेरुजुलगायत हुन् । राजस्व संकलनमा यो वर्ष प्राप्त उपलब्धिमा केही प्रयासहरु कारण भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए ।

‘वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । राजस्व विभागले बेरुजु फर्छ्योट तथा बक्यौता असुली अनगुमन गरिरहेको छ । कर परीक्षण कार्य चलिरहेको छ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ